प्रवेशिका परीक्षाको नतिजा असार पहिलो साता

03भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको हो ।

कार्यालयले यस वर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लागेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्नेगरी अन्तिम तयारीमा लागेको बताउनुभयो ।

उहाँले अति गोप्य कामहरु भइरहेको जानकारी दिँदै यी काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताए । परीक्षा गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो । यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिकाको नतिजा असारको दोस्रो सातामात्र सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रक द्वारेले भने, “प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यसको एकसातापछि मात्रै प्राविधिकतर्फको नतिजा सार्वजनिक हुनेछ । प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने भएको उनको भनाइ छ ।

यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिए ।

यसवर्षबाट सुरु गरिएको प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: