यी डाक्टर लिन्छन् मात्र, दिन जान्दैनन्

02जनकपुर । जनकपुर उपमहानगरपालिकामा निजी क्लिनिक, नर्सिङहोम र अस्पतालमा आबद्ध तीन सयभन्दा बढी चिकित्सकले सरकारलाई तिर्नुपर्ने आयकर छल्दै आएका छन् । एउटा चिकित्सकले दिनमा चारदेखि पाँचवटा क्लिनिकमा बिरामी जाँच गर्छन्। त्यसबापत चर्को शुल्क असुल्छन् ।

उनीहरूले प्याथोलोजी, एक्सरे जाँच र अल्ट्रासाउन्ड जाँचबाट पनि मोटो कमिसन पाउँछन् । सुरुमा जनकपुर अञ्चल अस्पतालमा काम गरेर नाम कमाउने र पछि निजी क्लिनिक खोलेर बिरामी जाँच्ने गरेका अधिकांश चिकित्सकले बिरामीलाई जाँचबापत लिएको शुल्कको रसिदसमेत उपलब्ध गराउँदैनन् ।

स्वास्थ्य क्षेत्रमा लगानी र बिरामी जाँच गरेर दैनिक लाखौं रुपैयाँ कमाउने तर राजस्व छली गर्नेमा नेपाल मेडिकल एसोसिएसन धनुषाका अध्यक्षदेखि नाम चलेका चिकित्सक छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरको तथ्यांक अनुसार ७० प्रतिशतभन्दा बढी चिकित्सकले कर छली गर्ने गरेका छन् । व्यक्तिगत रूपमा प्यान नम्बर लिए पनि उनीहरूले कमाइअनुसारको सही विवरण नदिएर कर छली गरेको पाइएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: