सीमानाकाबाट १० युवतीको उद्धार

10काठमाण्डौ । ललाई फकाई भारत लैजान लागिएका १० युवतीलाई चेलिबेटी बेचबिखन विरुद्ध क्रियाशील संस्था केआई नेपालले कपिलवस्तुको कृष्णनगरबाट उद्धार गरेको छ । युवतीहरुलाई सीमा कटाएर भारत लैजान खोज्ने २ महिलालाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाइएको छ ।

नेपाल भारत सीमाक्षेत्र कपिलवस्तुको कृष्णनगरमा स्थापित केआई नेपालको विट उद्धार गरिएका किशोरीहरुमा दाङका ४ जना, कपिलवस्तुका ३ जना, अर्घाखाँचीका २ जना र रुपन्देहीका १ जना छन् । उनीहरुलाई भारत लैजान खोज्ने कपिलवस्तु मनहरीकी २७ वर्षीया उमा गन्दर्भ र पाल्पा दोभानकी २७ वर्षीया बसुन्धरा बगाले प्रहरी नियन्त्रणमा छन् ।

अभिभावकलाई जानकारी नदिइ भारतका विभिन्न ठाउँमा लैजान लागिएका किशोरीलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको सहयोगमा फिर्ता गरिएको के.आई. नेपाल कृष्णनगरका संयोजक गद्दुलाल चौधरीले बताए । कपिलवस्तुको कृष्णनगर नाकालाई मानव बेचबिखनको ‘ट्रान्जिट प्वाइन्ट’को रुपमा लिइन्छ ।

नेपाली चेलीहरुलाई बिभिन्न प्रलोभन देखाइ कृष्णनगर लगायतका नाका हुँदै भारतका नयाँदिल्ली, पन्जाब, हरियाणा, इलाहाबाद, सिमला, चण्डिगढ, गोरखपुर, इटवालगायत ठाउँमा लगेर बिक्री गर्ने र यौनधन्दामा लाग्न बाध्य पार्ने गिरोह सक्रिय छ । मानव बेचबिखनका घटनामा कमी ल्याउन कपिलवस्तुको कृष्णनगरलाई लक्षित गरी केआई नेपालसहित ४ वटा संस्थाले अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्: