दशनामी बन्धुको सर्वोेपरी हित नै हाम्रो उदेश्य

chandra giriमाता शुभभद्री र पिता गुमान गिरीका चार भाई छोरा मध्ये माइला चन्द्रप्रसाद गिरी अहिले नेपाल दशनामी समाज झापाको अध्यक्षको जिम्मेवारी सम्हालीरहेका छन् । बिर्तामोड–६ का स्थायी वासिन्दा चन्द्रप्रसाद २०४७ सालमा शारदास“ग विवाह बन्धनमा बाँधिएका हुन् । उनका सरोज र पूजा दुई छोराछोरी छन् । सामाजिक सेवा र खेलकुदमा रुचि राख्ने उनी बिर्ता बचत तथा ऋण सहकारीको अध्यक्ष, चिन्तन पब्लिकेशनका अध्यक्ष, ओम नमः शिवाय सहकारीका सल्लाहकार, ओम नमः शिवाय कृषि सहकारीको उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालीरहेका छन् । समाज सेवा गर्ने लक्ष्य लिएका चन्द्रप्रसादसँग दशनामी समाजको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।

नेपाल दशनामी समाज कस्तो संस्था हो ?

– यो दशनामी समाज भित्र आबद्धहरुको हकहित र उनीहरुको सशक्तिकरणमा टेवा पु¥याउँदै विशुद्ध सामाजिक र मानवीय सेवामा समर्पित रहने संस्था हो ।

दशनामी समाजमा के–के पर्दछन् ?

– दशनामी समाजमा गिरी, पुरी, भारती, वन, आरण्य, तीर्थ, आश्रम, सरस्वती, पर्वत, सागर पर्दछन् ।

दशनामी समाजको उद्देश्य के हो ?

– विभिन्न क्षेत्रमा बसोबास गर्ने दशनामी बन्धुको सर्वोेपरी हित र सामाजिक एवम् मानवीय सेवा नै यसको मुख्य उद्देश्य हो ।

झापामा दशनामी समाजको अवस्था कस्तो छ ?

–झापामा उल्लेखीय संख्यामा दशनामी बन्धु रहेका छन् । आर्थिक हिसावले अति विपन्न देखि सम्बृद्धसम्म, साक्षरदेखि शिक्षितसम्म, राजनीतिक, सामाजिक, धार्मिक, शैक्षिक, पत्रकारिता सबै क्षेत्रमा दशनामी बन्धुहरु अग्रणी र विभिन्न जिम्मेवारीमा भूमिका निर्वाह गरिरहेका छन् ।

तपाईंको कार्यकालमा नयाँ योजना के छ ?

– मेरो कार्यकालमा जिल्लाका सबै नगर तथा गाउँमा संगठन विस्तार गर्ने, दशनामीको वास्तविक तथ्यांक संकलन गरी प्रोफायल तयारपार्ने , दाताले प्रदान गरेको जग्गामा शिवालय मन्दिरको निर्माण गर्ने, बन्धुबीचमा दशनामी बचत कोषको सञ्चालन गर्ने, शिक्षित बेरोजगारलाई सिपमूलक तालिम दिई रोजगारीको अवसर प्रदान गर्ने लगायतका योजना तयार पारेको छु । उक्त योजना कार्यान्वयनमा हाम्रो नेतृत्व अग्रसर हुनेछ ।

समाजका विपन्न परिवारको अवस्था सुधार गर्ने कुनै योजना छ कि ?

– त्यस्तो परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनको लागि सहकारीका माध्यमबाट सामुहिक लगानी तथा व्यवसायिक रुपमा अघि बढ्न प्रोत्साहित गर्ने योजना रहेको छ ।

समाज पविर्तनका लागि दशनामी समाजको भूमिका कस्तो रहेको छ ?

– हामीले संस्कार, संस्कृति र परम्परालाई आत्मसात गरी बदलिँदो परिस्थिति अनुसार नयाँ पुस्तालाई समेत सहभागी गराउँदै अघि बढेका छौं । सकारात्मक सोचका साथ समाज परिवर्तनका लागि समाजले रचनात्मक भूमिका निर्वाह गरिरहेको छ ।

दशनामी बन्धुलाई के सन्देश छ ?

– समाजले सञ्चालन गरेका कार्यक्रममा सहभागिता देखि संगठन विस्तार र बचत अभियान हुँदै आर्थिक सशक्तिकरणको पाटोमा अग्रसर हुनका लागि म सबै दशनामी बन्धुमा अनुरोध गर्दछु ।

अबको संविधान कस्तो बन्नुपर्छ ?

– सबै जाति, भाषी, धर्मी, लिंगी र वर्गका नागरिकको हक हित सुरक्षित र संरक्षण गर्न सक्ने अनि सबैले यो मेरो संविधान हो भन्ने अपनत्व ग्रहण गर्न सक्ने संविधान निर्माण हुनुपर्छ यस्को विकल्प पनि छैन ।

प्रतिक्रिया दिनुहोस्: