कांग्रेस सभापतिमा आधा दर्जन नाम

kaधरान । नेपाली कांग्रेस धरानलाई महाधिवेशनले तताएको छ । धरानमा क्षेत्रीय सभापति र नगर सभापतिको उम्मेद्वारी घोषणा गरेर आफ्नो पक्षमा कार्यकर्तालाई प्रभावित पार्र्न उम्मेद्वारहरु सक्रिय छन् । यसपटकको महाधिवेशनमा क्षेत्रीय समितिमा उम्मेद्वारी दिनेहरुको संख्या आधा दर्जनको नाम चर्चामा छ ।

महाधिवेशन निर्धारित मितिमा हुने नहुने अन्यौल भईरहेका बेला केन्द्रीय पदाधिकारी बैठकले महाधिवेशन नसार्ने निर्णय गरेपछि स्थानीय स्तरमा कार्यकर्ताहरुलाई महाधिवेशन लागेको हो ।
महाधिवेशन अगाडी नै चर्चामा आउनेहरुमा वर्तमान क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठ, वर्तमान क्षेत्रीय सचिव सुजेन्द्र तामाङ, हालका नगर अध्यक्ष तथा अखिल नेपाल फुटवल संघ (एन्फा) का द्वितिय उपाध्यक्ष किशोर राई, क्षेत्रीय सदस्य तिलक राईको नाम अत्यधिक चर्चामा छ ।

कांग्रेसले साउन १४ गते वडा, गाउँँ तथा नगर, २२ गते क्षेत्र, २६ गते जिल्ला र भदौ २४ देखि २८ गते केन्द्रको महाधिवेशन मिति तय गरेको छ । केन्द्रीय तहबाट मिति तोकेर आएपछी धरान सुनसरी क्षेत्र नं. १ का कांग्रेसी नेताहरु महाधिवेशनमा उठ्न र भोट संकलनका लागि गृहकार्यमा जुटेका हुन् ।

सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा हालका क्षेत्रीय सचिव तथा महाधिवेशन प्रतिनिधि सुजेन्द्र तामाङले उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रका सदस्य तथा पदाधिकारी, वडा सभापति, अन्य प्रभावशाली नेता तथा कार्यकर्ताहरुको वृहत भेला गरी आफ्नो उम्मेद्वारी घोषणा गरेको बताएका छन् । तामाङको उम्मेद्वारी घोषणासँगै धरानका कांग्रेसीहरुलाई महाधिवेशनले तताएको छ ।

तामाङसँगै क्षेत्रीय सभापतिमा उठ्ने तयारीमा क्षेत्रीय सदस्य हिमाल लिम्बू, द्वारिकालाल श्रेष्ठ र विश्वराज शर्मापनि लागि परेका छन् । कांग्रेस श्रोतका अनुसार यता हालका नगर सभापति किशोर राई, क्षेत्रीय सदस्य तिलक राई र महासमिति सदस्य मदन ढकाल पनि अध्यक्षका लागि दाबेदार हुन् । तिलक राई १२ औं महाधिवेशनका प्रत्यासी हुन् भने ढकाल ११ औं महाधिवेशनका सभापति हुन् । यसैगरी क्षेत्रीय सदस्य नन्द राई र पांचकन्या गाउँ सभापति धन बहादुर कटवाललेसमेत यसपटक उम्मेद्वारी दिन सक्ने कार्यकर्ताहरु बीचमा चर्चा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: