विप्लव माओवादी र नेपाली सेनाको सहकार्य

biplabकाठमाण्डौ । कुनै पनि नाम र रुपको संसदीय व्यवस्थालाई स्वीकार नगर्ने उद्घोषका साथ अघि बढेको र अहिले संविधानसभामा रहेका दलहरुले एकलौटी ढंगबाट संविधान जारी गरे त्यसका विरुद्ध विद्रोह गर्ने चेतावनी दिँदै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र राज्यको प्रमुख सुरक्षा संयन्त्र नेपाली सेनाका बीच गजबको सहकार्य देखापरेको छ ।

मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पालुङको किट्नी भन्ने स्थानमा मंगलबार विप्लव नेतृत्वको माओवादीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेवक र नेपाली सेनाका एक–एक टोलीले एकापसमा सहकार्य गर्दै संयुक्त रुपमा भूकम्पबाट क्षतिग्रस्त ऋषेश्वर प्राथमिक विद्यालयको मर्मत तथा टहरा निर्माण गरेका छन् ।

विप्लव माओवादीका युवानेता सुदर्शन मंगोलले नेतृत्व गरेको १० जनाको टोली र नेपाली सेनाका मेजर राजु कार्कीले नेतृत्व गरेको ५ जना सेनाको टोली मिलेर उक्त प्राविको टहरा निर्माण गरिसकेपछि सोही ठाउँमा घरबारविहीन भएका स्थानीयवासीका घरटहरा बनाउने काम गरिरहेका छन् ।

उद्धार, राहत र पुनर्निर्माणमार्फत भूकम्पपीडित जनतामा जनसेवा गर्ने विप्लव माओवादीको दोस्रो चरणको १० दिने अभियानका क्रममा युवानेता मंगोल नेतृत्वको टोली लमजुङ पुगेको थियो । जिल्लाको भलायखर्क र चक्रतीर्थ गाविसमा ३ वटा विद्यालयमा टहरा निर्माण गर्ने तथा ६ वटा घरका भग्नावशेष हटाएर त्यहाँ पुरिएका जनताका धनमाल निकाल्ने काम गरिसकेपछि सो टोली आइतबार मकवानपुर आएको जानकारी मंगोलले दिएका छन् ।

तेस्रो चरणको जनसेवा अभियान थालेको युवाटोलीले सोमबार विद्यालयमा टहरा बनाउन थालेपछि स्थानीयवासी निकै खुशी भएको र माओवादी युवाहरुको कामबाट प्रभावित भई नेपाली सेनाको टोली समेत सहकार्यमा आएको उनले बताए ।

सेनाका कमान्डर राजु कार्कीले विपतमा परेका जनताको उद्धार र पुनर्निर्माणमा माओवादी युवाहरुले पुर्याएको योगदानले आफूलाई प्रभावित तुल्याएको बताउँदै सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेअनुसार संयुक्त रुपमा काम गरिरहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: