सगरमाथा तीन सेन्टिमिटर सर्यो, उचाईं यथावत – चिनियाँ प्राविधिक

01काठमाण्डौं । वैशाख १२ को विनाशकारी भूकम्पले गर्दा विश्वको सर्वोच्च शिखर सगरमाथा तीन सेन्टिमिटर सरेको चिनियाँ आधिकारिक अनुगमन संस्थाले बताएको छ । यद्यपि, सगरमाथाको उचाईं घटेको भन्ने हल्लालाई भने खारेज गरिएको छ ।

चीनको नेसनल एडमिनिस्ट्रेसन सर्भेइङ म्यापिङ एण्ड जिओइन्फरमेसनका अनुसार सगरमाथा पछिल्लो १० वर्षमा ४० सेन्टिमिटर उत्तरपूवतिर सरेको र गत वैशाख १२ र २९ गतेको भूकम्पपछि तीन सेन्टिमिटरसम्म दक्षिणपश्चिम दिशातर्फ सरेको हो ।

यस विभागका अध्ययनकर्ताहरुले सगरमाथामा राखिएको अनुगमन गर्ने यन्त्रको अध्ययनबाट तीन सेन्टिमिटर सरेको तर ८,८४८ मिटर रहेको उचाईंमा भने कुनै असर नपरेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

यसअघि, युरोपको सेन्टिनेल–वानए राडार भूउपग्रहले सगरमाथाको उचाईं २.५ सेन्टिमिटरले घटेको हुनसक्ने बताएको थियो । विनाशकारी भूकम्पपछि एक भूउपग्रहले गरेको अध्ययनमा काठमाडौं नजिकै रहेको भूभाग उठेको लाइभ साइन्समा गत महिना एक रिपोर्ट सार्वजनिक गरिएको थियो ।

त्यहाँ पनि सगरमाथाको उचाईं घटेको बताइएको थियो । तर चिनियाँ तथ्यांकले भने त्यसको खण्डन गरेको छ । चिनियाँ अनुसन्धानबाट सगरमाथा प्रत्येक वर्ष ४ सेन्टिमिटरको दरले सरिरहेको र ०.३ सेन्टिमिटरको दरले उचाईं बढिरहेको देखाएको छ ।

सगरमाथा भारतीय र युरेसियन बेल्ट ठोकिने स्थानमा रहेको छ । यस क्षेत्रमा हुने भौगर्भिक परिर्वतनले पूर्वी र दक्षिण एसियाको वातावरण र मौसममा ठूलो प्रभाव पार्ने बताइएको छ । चीनले सन् २००५ मा सगरमाथामा स्याटेलाइट मोनिटरिङ सिस्टम जडान गरेपछि निरन्तर रुपमा अध्ययन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: