चीनमा नेपाल फेरि ’थिम’ बन्ने

02एजेन्सी । कुन्मिङ (चीन), असार २ तेस्रो चीन(दक्षिण एसिया एक्स्पो र २३ औं कुनमिङ मेलामा सक्रिय सहभागी नेपाल आउने वर्ष पुनः यसको ’थिम’ बन्ने भएको छ । नेपालले राखेको उक्त प्रस्तावमा युन्नान प्रान्त सकारात्मक भएको छ ।

केन्द्रीय सरकारसँगको समन्वयपछि यसको टुंगो लाग्नेछ । अघिल्लो वर्ष नेपाल ’थिम’ रहेको र नेपालबाट प्रधानमन्त्री सुशील कोइराला नै सहभागी भएको उक्त मेलामा यस पटक वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा सहभागी भएर फर्केका हुन् ।

यस वर्षको एक्स्पोमा भारत ’थिम’ थियो । नेपालले आगामी वर्ष ’विषय मुलुक’ बन्न रुचि देखाएको युन्नान प्रान्तीय सरकारका उपसचिव ली च मिङले कान्तिपुरलाई बताए । नेपाली उत्पादनलाई एक्स्पोले राम्रो प्रवर्द्धन गरेकामा नेपाल सरकार उत्साही रहेको उनले बताए ।

नेपालका गरिब ग्रामीण महिलाले बनाएका हस्तकलाका सामानलाई युन्नान प्रान्तले खरिद गरिदिएमा नेपाली महिलाको जीवनस्तरमा सुधार आउने धारणा वाणिज्य तथा आपूर्ति मन्त्री थापाले युन्नान प्रान्त सरकारसमक्ष राखेको उपसचिव लीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: