जाने बेलामा प्रधानन्यायाधीशद्वारा सरुवा

09काठमाण्डौ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले कार्यकालको अन्तिम समयमा आएर पुनरावेदन र जिल्ला अदालतका न्यायाधीशको काज सरुवा गर्ने विवादास्पद निर्णय गरेका छन् । साहको एकल निर्णयअनुरूप मंगलबार ११ न्यायाधीशको काज सरुवा गरिएको छ ।

नयाँ प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्थामा प्रधानन्यायाधीशले न्यायाधीश काज सरुवा गर्ने परिपाटीले गलत परम्परा बसाउने भन्दै निर्णयको आलोचना भएको छ । साहको कार्यकाल २२ दिन बाँकी छ ।

प्रधानन्यायाधीश साहको एकल निर्णयअनुरूप पुनरावेदन अदालतका न्यायाधीश शम्भुबहादुर खड्कालाई तुल्सीपुरबाट पाटन, माधव पोखरेललाई विराटनगरबाट पोखरा, प्रेमराज कार्कीलाई पोखराबाट बुटवल, वीरेन्द्रकुमार कर्णलाई बुटवलबाट विराटनगर, थीरबहादुर कार्कीलाई पाटनबाट तुल्सीपुर र न्यायाधीश किशोर सिलवाललाई विराटनगरबाट पाटनमा काज सरुवा गरिएको छ ।

यस्तै जिल्ला न्यायाधीशहरू ठाकुर शर्मालाई दोलखाबाट धादिङ, रमेशराज पोखरेललाई धादिङबाट काठमाडौं, बालमुकुन्द दवाडीलाई काठमाडौंबाट कास्की, जगतनारायण प्रधानलाई लमजुङबाट सिरहा र उपेन्द्र गौतमलाई रोल्पाबाट लमजुङ जिल्ला अदालतमा काज सरुवा गरिएको छ। साह असार २३ गते अवकाश पाउँदैछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: