रोकिएन नयाँ घर निर्माण

07काठमाण्डौ । मापदण्डविपरीत धमाधम नयाँ भवन निर्माण भइरहँदा पनि सरकारले कुनै चासो देखाएको छैन । उपत्यकालगायत विभिन्न सहरमा असार मसान्तसम्म भवन निर्माण तथा नक्सा पास बन्द गरिए पनि नयाँ भवन बन्ने र तला थप्ने प्रक्रिया रोकिएको छैन ।

स्थानीय विकास मन्त्रालयले भूकम्प गएपछि संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा धमाधम भवन निर्माण भइरहेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

’टोल–टोलमा चार तलासम्म थपिराखेका छन् । सरकारको अनुगमन प्रक्रिया प्रभावकारी भएन,’ कुमारीगालका स्थानीय यादव खरेलले भने, ’अनुगमन प्रक्रिया फितलो छ ।’ स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले नयाँ भवन निर्माण गर्नेलाई कडा कारबाही हुने चेतावनी दिए । ’

सबै नगरपालिकालाई निर्देशन दिइसकेका छौं, नियम कानुनको उल्लंघन गर्नेलाई कडा कारबाही गरिन्छ,’ उनले भने, ’नगरपालिकाले अनुगमन गर्नुपर्छ ।’ उपत्यकाका नवघोषित नगपालिकामा भवन निर्माण प्रक्रिया रोकिएको छैन । मापदण्डविपरीत घर निर्माण भइरहेका छन् ।

ललितपुर उपमहानगरपालिका वरिष्ठ इन्जिनियर रुद्र गौतमले मन्त्रालयको निर्णय नमान्नेलाई कारबाही गर्ने बताए । ’चार तलाको नक्सा पास गरे पनि तत्कालका लागि निर्माण गर्न पाइँदैन, दुई तला मात्र बनाउन पाइन्छ,’ उनले भने, ’कार्यकारीको संयोजकत्वमा ललितपुर उपमहानगरमा अनुगमन टोली बनाएका छौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: