असार ७ मा संविधानको मस्यौदा

03काठमाण्डौं । मस्यौदा समितिले पाँचवटा विषयगत समितिका प्रतिवेदन एकीकृत गरेर असार ७ गतेभित्र संविधानको मस्यौदा बनाउने जिम्मा कार्यदललाई दिएको छ। मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलमा पाँचवटा उपसमितिका संयोजक छन् ।

समितिले एमालेका भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका, एमाओवादीका हितराज पाण्डेको संयोजकत्वमा कार्यतालिका, कांग्रेसका रमेश लेखकको संयोजकत्वमा न्याय, फोरम लोकतान्त्रिकका जितेन्द्र देवको संयोजकत्वमा प्रस्तावना र मालेका अइन्द्रसुन्दर नेम्बाङको संयोजकत्वमा मौलिक हक उपसमिति गठन गरेको थियो ।

पाँचवटै उपसमितिले केही विवादित विषयसहित आआफ्नो प्रतिवेदन बुधबार समितिमा पेस गरेका थिए । ती प्रतिवेदनमाथि सामान्य छलफलपछि समितिको बुधबारको बैठकले एकीकृत मस्यौदा बनाउन कार्यदललाई जिम्मा दिएको हो ।

’पाँचवटा उपसमितिका प्रतिवेदन र तिनमा उठेका टिप्पणीका आधारमा ७ गते बिहानसम्म एकीकृत मस्यौदा बनाई समितिमा पेस गर्ने जिम्मा कार्यदललाई दिइएको छ’, एमाले सभासद् रेवतीरमण भण्डारीले भने । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: