उद्धार गरिएकी भूकम्पपीडित युवती ५० हजारमा बेचेको खुलासा

00काठमाण्डौं । राजधानीमा उनको गुजारा जेनतेन चल्दै थियो। छापाखानामा पसिना बेचेको कमाइले दैनिक खर्च टर्थ्यो । जीवनयात्रा यसरी नै घस्रिँदै थियो । वैशाख १२ गते अचानक भुइँचालो आयो । भुइँचालोले राजधानी र उनको गृहजिल्ला सिन्धुपाल्चोकका थुप्रै घर भत्काइदियो ।

भक्तपुरको डेरा भत्किएपछि पालमुनि रात काट्न विवश हरिमाया (नाम परिवर्तन) को त यही भूकम्पले झन्डै जीवन नै भत्काइदिएन । बिहेको प्रलोभनमा भारत, मेघालय र्पुयाएकी उनी ५० हजारमा बेचिइसकेकी थिइन्। धन्य !

आफू राखिएको होटल सञ्चालिकाको निगरानीले यौनकोठीको नरक पुग्नबाट उम्किइन् र प्रहरीले उद्धार गरी नेपाल फर्कायो । उनलाई झैं भारत पुर्याइएका १५ युवती नरकबाट उद्धार गरिए पनि भारतमै एक संस्थाको संरक्षणमा छन्। अझै केही युवतीको अत्तोपत्तो छैन । महानगरीय प्रहरी परिसर, भक्तपुरमा भेटिएकी हरिमायाले आफू बेचिएको र उम्किएर फर्कन सफल भएको दर्दनाक कथा बाँडिन् ।

हरिमाया दाइसँगै भक्तपुरस्थित डेरामा बस्दै आएकी थिइन् । कारखानामा काम गर्थिन्। भूकम्पले भक्तपुरको डेरा भत्किएसँगै टेन्टको बास सुरु भयो। प्रेसमै चिनजानका सुमन तामाङले उनीसँग बिहेको प्रस्ताव राखे। १८ वर्षीया हरिमाया (नाम परिर्वतन) यो प्रस्तावले दंग भइन् ।

भावी जीवनका कैयन् रंगीन सपना उनको मनमा एकसाथ जन्मिए र हल्किए । उनले धेरै सोचिनन्, सुमनसँग बिहे गर्न राजी भइन् । सुमनको भित्री अनुहार ख्यालै नगरेकी हरिमाया कसैलाई सुइँको नदिई जेठ २० गते उसैसँग भागिन् ।

सुमनले हरिमायालाई कहिले कोटेश्वरमा राखे, कहिले चितवन पुर्या ए। बिहे गर्छु भनेर फकाए र बिहेपछिका सबै कर्म भ्याए। उनी ढुक्क थिइन् बिहे नै गर्छु भनेपछि नाइँनास्ति गरिनन् । भूकम्पले तहसनहस पारेको नेपालमा बस्न गाह्रो हुने भन्दै उनले हरिमायालाई भारत लगेर खुसीसाथ राख्ने प्रस्ताव राखे। जीवनै सुम्पेको सुमनमाथि शंका गर्नुपर्ने कुनै कारण थिएन ।

सुमनले जे–जे भने उनले नाइँनास्ति गरिनन् । नयाँ जीवनका अनेक सपना बुन्दै उनी भारतको मेघालय पुगिन् ।
मेघालयमा सुमनले नै दिदी भन्दै चिनाएकी एक युवतीले जब उनलाई ५० हजारमा किनेको सुनाउँदै दिल्ली जान कर गर्न थालिन बल्ल उनले भेउ पाइन विश्वास गरेर नेपालदेखि सँगै आएको व्यक्ति त चेलीबेटी बिक्री गर्ने दलाल पो रहेछ ।

त्यसो त मेघालयमा उनलाई राखिएको होटल सञ्चालिकालाई त्यो युवकका गतिविधिमा पहिल्यै शंका लागिसकेको थियो । नत्र हरिमाया अहिले दिल्लीको कुनै कोठीमा नारकीय जीवन बिताइरहेकी हुन्थिन् ।

संयोगबस नुवाकोटबाट मेघालय पुगेर होटल व्यवसायमा लागेकी संगीता श्रेष्ठको साथले उनी बेचिए पनि कोठी पुग्नबाट जोगिइन् । घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसर, भक्तपुरका एसपी विकास श्रेष्ठका अनुसार सँगै काम गर्ने सुमनले वैशाख २० गते हरिमायालाई भगाएर कोटेश्वरमा रहेका दाइको घरमा २ दिनसम्म राखेका थिए।

कोटेश्वरमा २ दिन बसेपछि सुमनले उनलाई सस्तोमा कपडा किन्ने भन्दै ट्याक्सीमा राखेर चितवन पुर्याएपछि राम्रो जीवन बिताउने भन्दै २ वर्षसम्म भारतमा बस्ने प्रस्ताव राखेका थिए । चितवनबाट बस चढाएर लगेपछि उनले कहाँ पुगियो भन्ने भेउ नै पाइनन्।

उत्रिँदा पो भारतको मेघालय पुगिसकेकी थिइन् । सुमनको बदलिएको व्यवहारले भने उनलाई कताकता चिसो पसिसकेको थियो। बसबाट ओर्लिनै नदिने, बसमा बस्दा पनि सलले मुख छोप्न लगाउने, शौचालय जाँदासमेत पछि लाग्ने उसको व्यवहार अनौठो लागेको थियो हरिमायालाई । आफू बेचिनै लागेको त उनले कसरी सोच्नु !

‘सुमनले नेपालमा बसेर केही हुन्न, दुई वर्षजति भारतमा गएर बसौं भन्यो,’ महानगरीय प्रहरी, भक्तपुर परिसरमा रहेकी हरिमायाले भनिन् ‘यताबाट जाँदा उसले बाटोमा देखाएको व्यवहारले शंका त लागेको थियो तर बिहे नै गर्छु भनेकाले बेच्न लैजाँदैछ भनेर सोच्नै सकिनँ ।’

जेठ २४ मा मेघालय पुग्दा सुमन र हरिमायासँगै अन्य युवक पनि थिए । उनीहरु मेघालयको जुन होटलमा बसे, संयोगबस त्यो नेपालीमूलकी संगीताको थियो । भर्खरकी किशोरी लिएर होटल पुगेका केटा देख्दा उनको मनमा शंका लाग्यो। सोधखोज गर्दा बिहे गरेर आएको भनेकाले उनले कोठामा बस्ने अनुमति दिइन् ।

पीडित युवतीको प्रारम्भिक बयानअनुसार उनीहरु होटलमा बसेका बेला सुमनले एक युवतीलाई ‘दिदी’ भनेर चिनाएका थिए । ती युवती नेपालबाट जाँदा सँगै थिइनन् । दोस्रो दिन उनी आएर सोही होटलमा बसिन् ।

होटलमा बसेको चौथो दिन अन्दाजी ३० वर्षजतिकी ती महिलाले झोलामा रहेको सुमन र हरिमायाको कपडा छुट्ट्याएर अर्को झोलामा राख्न थालेपछि बल्ल उनको मनमा चिसो पसेको थियो । कपडा किन छुट्ट्याएको भनेर सोध्दा सुमन ढोकामै थिए।

केही नबोली बाहिरिए उनी। हरिमायाले कपडा नछुट्ट्याउनुस् भनेर जिद्दी गरेपछि दिदी भनाउँदीले उनलाई भनिन् , ‘तिमी मसँग दिल्ली जाने हो।’ आफू एक्लै नजाने बताएपछि ती महिलाले ‘सुमनले ५० हजार लिइसक्यो, तिमी मसँग जानुपर्छ’ भनिन् । विवाहको प्रलोभनमा सुमनले आफूलाई बेचेको बल्ल भेउ पाइन् हरिमायाले ।

यता जेठ २६ गते बिहान उनीहरु बस्ने कोठामा हल्लाखल्ला भएपछि संगीता के भयो भन्दै कोठामा पुगिन् । ढोकानजिकै रहेका सुमन र अर्की महिला केही डराएझैँ देखिए। होटल सञ्चालिकाले ‘प्रहरी बोलाइदिऊँ?’ भनेपछि हरिमायालाई छाडेर दुवै जना होटलबाट बाहिरिए, अनि फर्किएनन् ।

यता, नेपालमा एकाएक बहिनी हराएपछि हरिमायाका दाइ खोज्न भौंतारिइरहेका थिए । हरिमाया मेघालयको होटलमा रहेको जानकारी पाउँदा उनी झसंग भए ।
नेपाल प्रहरीमै रहेका आफन्तमार्फत घटना महानगरीय प्रहरी परिसर भक्तपुरसम्म पुगेपछि मेघालयको प्रहरीसँग समन्वय गरेर प्रहरीले उनलाई सकुशल स्वदेश फर्काउन सफल भयो ।

उनलाई विवाहको प्रलोभनमा पारेर मेघालयसम्म पुर्याएर दलाललाई बेच्ने सुमन भने अझै फेला नपरेको नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्: