अपाङ्गता भएका बालबालिकाबीच खेलकुद प्रतियोगिता

04इलाम । अपाङ्गता भएका बालबालिकाको प्रतिभा पहिचान तथा उनीहरुलाई मनोरञ्जन दिलाउने उद्देश्यले अमर उच्च मावि बरबोटेमा आयोजित खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

जिल्ला शिक्षा कार्यालयको आयोजनामा भएको प्रतियोगितामा अमर उमावि बरबोटेमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा, सदरमुकामस्थित बालमन्दिर दृष्टिविहीन बालबालिका र करफोक विद्यामन्दिरस्थित सुस्तश्रवण स्रोत कक्षाका विद्यार्थीको सहभागिता थियो ।

सुस्तश्रवण स्रोत कक्षाका बालबालिकाको १०० मिटर दौडमा पर्वत मुखिया प्रथम, निमा शेर्पा द्वितीय र बुद्ध तामाङ तृतीय भएका थिए । बौद्धिक अपाङ्गता भएकाको १०० मिटर दौडमा पवित्रा राई प्रथम, राजु लेप्चा द्वितीय र अनिशा नेपाली तृतीय र सुस्त श्रवणको २०० मिटर दौडमा गोविन्द मगर प्रथम, प्रशन राई द्वितीय र पर्वत मुखिया तृतीय भएका थिए ।

चम्चा दौडमा शीला राई प्रथम, रसिला देवान द्वितीय र समृद्धि थेवे तृतीय भएका थिए । आवाज सुनेर वस्तु चिन्ने दृष्टिविहीनको खेलमा रसिला देवान प्रथम, सुरेश देवान द्वितीय र शिला राई तृतीय भएका थिए ।

अपाङ्गता भएका बालबालिकाले गीत गाउनुका साथै वाद्यवादन प्रतिभासमेत प्रस्तुत गरेका थिए । प्रतियोगितामा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: