किन हुन्छ स्कूटर दुर्घटना ?

टाउकोदेखि कुर्कुच्चासम्मको पहिरन संहिता चाहियो !

01चन्द्र काफ्ले /काठमाण्डौ  शघिल्लो साता ललितपुरको सातदोबाटोमा २२ वर्षीया साबित्री श्रेष्ठको स्कुटर दुर्घटनामा ज्यान गयो। आइतबार ललितपुरकै पुल्चोकमा दुई युवतीलाई मोटरसाइकलले ठक्कर दियो । स्कुटरमा सवार दुबै युवती घाइते भएर अहिले अस्पतालमा उपचाररत छन् ।

२०६७ मा चाबहिलमा ट्रकले ठक्कर दिँदा बौद्धकी रशु शाक्य दुवै खुट्टा गुमाइन् । अघिल्लो वर्षको चैतमा राजधानीकै व्यस्त सडक मध्येको एक गल्कोपाखामा स्कुटर दुर्घटनामा नेपालकै चर्चित गायिका मञ्जु महतको मृत्यु भयो ।

घटना हुन्छन्। घटना घट्नासाथ हाम्रा सामाजिक सञ्जालहरू यसरी सक्रिय हुन्छन् कि हामी पत्रकारले पनि घटना विवरण सामाजिक सञ्जालबाट पाएका हुन्छौं ।

घटना भएको केहीदिनसम्म सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार, विचार अनि प्रतिक्रियाहरू धेरै छरिन्छन्। सडक असुरक्षित भयो भन्दै सरकारलाई गाली गर्छौं ।

राजधानीसहित मुलुकभर दैनिकजसो दुर्घटना हुने सवारीमध्ये मोटरसाइकल र स्कुटर एक नम्बरमा रहेको ट्राफिक प्रहरीसँग तथ्याङ्क छ ।

कुनै चर्चामा रहेको मान्छे दुर्घटनामा पर्दा केहीदिन हल्लीखल्ली मच्चिन्छ अनि फेरि उस्तै। तर, पनि राजधानीसहित मुलुकभर स्कुटर दुर्घटना हुने क्रम रोकिएका छैन, धेरै महिलाको ज्यान गयो। कयौ अंगभंग भए। केही अस्पतालमा उपचार गरिरहेका छन् ।

गएको मंसिर महिनामा पनि लगातार दुई दिन ठूलो स्कुटर दुर्घटना भयो। मंसिर २१ गते बबरमहलको व्यस्त सडकमा भएको स्कुटर दुर्घटनामा शान्ति हमालको ज्यान गयो ।

त्यसको लगत्तै २२ गते फेरि तीनकुनेमा अर्को स्कुटर दुर्घटना भयो, त्यसमा २७ वर्षीया निशा बस्नेतको मृत्यु भयो ।

फेरि समाचारले सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाईन तताए। टेलिभिजनमा रिपोर्ट बजे। ’स्कुटरमा बच्नै गाह्रो, स्कुटर असुरक्षित,’ यस्ता समाचार केहीदिनपछि सेलाए ।

किन मोटरसाइकल, स्कुटरहरूमात्र दैनिकजसो दुर्घटनामा पर्छन्। राजधानीमा हुने अरु धेरै दुर्घटनाका कारणमा स्कुटर र मोटरसाइकल नै हुन्छन् ?

विगत २५ वर्षदेखि राजधानीको ट्राफिकमा काम गरिरहेका ट्राफिक इन्स्पेक्टर सीताराम हाछेथुले कारणहरु पहिल्याएका छन् ।

’आफू सुरक्षित हुनलाई मोटरसाइकल ठीक छ छैन सबैले चेक गर्छन्, टाउको जोगाउन हेल्मेट लगाउँछन्, हेल्मेटको फित्ता बाँध्छन्, मुखमा मास्क लगाउँछन्, हातमा पञ्जा लगाउँछन् तर पिँडुलाभन्दा तलको बचाउलाई केही उपाय सोचेका हुँदैनन् । हाफ पाइन्ट, छोटो स्कर्टमा चप्पल लगाएर दुई पांग्रे हाँक्छन्,’ हाछेथुले सामान्य तर गम्भीर कारणहरु थाहा पाएका छन् ।

राजधानीसहित अधिकांश सडक खाल्डाखुल्डी, विग्रेको, बाटोमा निर्माण सामाग्रीले भरिएका हुन्छन्। जसका कारण अलिकति लडेपनि ठूलो चोट लाग्छ ।

’महिला स्कुटर चालकहरू अलिकति अप्ठेरो परिस्थिति आउनासाथ आत्तिन्छन्,’ उनले भने, ‘स्कुटर अनियन्त्रित हुन्छ अनि दुर्घटना ।’

ट्राफिक प्रहरीले अध्ययन गर्दा राजधानीमा मोटरसाइकल र स्कुटर बढी जोखिमपूर्ण भएको तथ्य फेला परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा हुने गरेका दुईपांग्रे सवारीसाधनको दुर्घटनाबारे गरेको विश्लेषणपछि यस्तो तथ्य बाहिर आएको हो ।

अध्ययनबाट सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने पनि दुईपांग्रे सवारीसाधन रहेको देखिएको डीआईजी केशव अधिकारीले बताए ।

दुर्घटनामा परेका स्कुटर चालकलाई सोध्दा राम्रोसँग ब्रेक नलाग्ने, चक्का सानो भएपछि उबडखाबड ठाउँमा इन्जिनले भुइँ छुने, तत्काल गति सन्तुलनमा राख्न नसकिने, सजिलै मोड्न नसकिने, मोड्दा सीधा बत्ती नदेखिने र कम लाइट फाल्नेजस्ता समस्या सुनाए ।

दोषी ठूला सवारीका चालक मात्रै नभएर स्कुटर चालक पनि रहेको स्पष्ट पार्दै प्रहरी निरीक्षक हाछेथुले भने, ’जाडो सुरु भएसँगै युवतीहरु आँखामात्रै देखिने गरी र कान नसुन्ने गरी गलबन्दी गुथ्ने गर्छन् । गर्मी छल्न लगाइने छोटो र सानो कपडाले दुर्घटनालाई पनि घातक बनाइदिन्छ ।

दुर्घटनामा के हुन्छ ? त्यो भएपछि मात्रै थाहा हुन्छ, जोखिम ज्यानकै हुन्छ ।

‘धेरै महिला स्कुटर चालक बलियो, सुरक्षित हेल्मेट लगाउँदैनन्,’ हाछेथुले देखेका छन्, ’टाउकामाथि जुरो लगाएजस्तो हेल्मेटले जोगाउँदैन ।’

कि त टोपी जस्तो हेलमेट लगाउने कि हाफ हेलमेटबाट काम चलाउने गरेको उनको अनुभव छ। ’स्कूटर किन्छन् डेढ लाखको हेल्मेट किन्छन पाँच सयको,’ उनले प्रश्न गरे अनि कसरि हुन्छ सुरक्षा ?’

दुई पांग्रे सवारी चलाउँदा कस्तो पहिरन लगाउने भन्ने नियम नभएकाले पनि दुर्घटना बढिरहेको छ। ‘हाम्रो रेकर्ड अनुसार चालकको ध्यान स्कूटर चलाउने फेसनेबल महिलातिर जाँदा पनि दुर्घटना भएका छन्,’ उनले भने ।

स्कुटर, मोटरसाइकल चालककै गल्तीले दुर्घटना हुँदा पनि ठूला सवारी मात्र दोषी हुने परिपाटीले दण्डहिनता बढाएको हुन्छ। दण्डहिनताले लापरबाही ।

मोटरसाइकलले गाडीलाई हान्दिन्छ । सबैले भन्छन्, ’बसले स्कुटरलाई हान्यो,मोटरसाइकललाई हान्यो ।’

‘हामीले पनि रिपोर्टमा स्कुटरले बस वा ट्रकलाई हान्यो भनेर लेख्दैनौँ, कतिपय कुरा गोप्य नै राख्नुपर्छ’, हाछेथुले भने ‘तर, गल्ती स्कुटर वा मोटरसाइकलको पनि हुन्छ, उनीहरू नै ठोक्किने सम्भावना हुन्छ ।’

तर, मान्छेको निधन भइसकेपछि, वा घाइते भएपछि सबैको सहानुभूति, समवेदना उतैतिर जान्छ।‘दोष ठूलाको पनि हुन्छ, धेरैजसो असुरक्षा उनीहरूबाटै हुन्छ, तर मोटरसाइकल वा स्कुटर चलाउनेहरू पनि उत्तिकै दोषी हुन्छन् ।’

अब हाछेथुले स्कुटर चलाउनेहरूलाई यस्तै सावधानीका समेटेर सन्देश बाँड्दैछन् ।

स्कुटर असुरक्षित हुनुको कारण, दुर्घटनाको कारण, अनि त्यसबाट बच्ने उपायहरू समेटिएको पर्चा पम्प्लेट उनले अब स्कुटर चालकहरूलाई बाँड्नेछन् ।

भर्खरै मात्र स्कुटर चलाउन थालेकी ललितपुरकी स्मिता ओझा सार्वजनिक सवारीसाधनका चालकले स्कुटर चालकलाई हेप्ने र गिज्याउने गरेको अनुभव सुनाउँछिन् ।

‘मैले स्कुटर हाँक्दा पनि ठूला गाडीका ड्राइभरले ओभरटेक गर्दै गिज्याउँथे, स्कुटरअगाडि ल्याएर चर्को हर्न बजाउने र झ्याप्प ब्रेक हान्थे, उनले भनिन् यस्ता चालकको व्यवहार पनि परिवर्तन गर्नुपर्छ ।’

सडकमा आफू ठीक भएर चलाएपनि अरूको गल्तीले आफू दुर्घटनामा परिन्छ वा आफ्ना केही साना कमजोरीले गम्भीर दुर्घटना निम्तिन्छ भन्ने केहीले मात्र सोचेका हुन्छन् ।

मोटरसाइकल चलाउँदा कस्तो लुगाको प्रयोग गर्नुपर्ने भन्ने बारे कुनै पनि निमय कानुन नभएकाले ट्राफिकले केही गर्न नसकेको गुनासो हाछेथुले गरे, ‘हामी ट्राफिक प्रहरी पनि सडकमा सवारीको अवस्था तथा सवारी चालकको अनुमति पत्र, बिल बुक, ट्राफिक नियम पालना नगर्नेलाई मात्र कारबाही गर्छौ, तर दुर्घटना हुनसक्ने छोटो लुगा लगाउँदा, पातलो टिसर्ट र थोरै कपडा मात्र लगाएर सवारी चलाउनेलाई कारबाही गर्ने नियम छैन ।’

कस्तो कपडा लगाएर बाइक चलाउने भन्ने बारे मोटरसाइकल बेच्ने व्यवसायी, आमाबुबा वा शिक्षकहरूले सिकाउनु पर्ने उनले बताए ।

’आफू सुरक्षित गन्तब्यमा कसरी पुग्न सकिन्छ भन्ने कुरा पहिले चालक आफैले बुझ्नुपर्छ। तर, यहाँ प्रहरीले कारबाही गर्ला भनेर ट्राफिक प्रहरीका लागि मात्र ट्राफिक नियम मान्ने देखिन्छ,’ उनले भने ।

ट्राफिक नियम पालना भनेको आफ्नो सुरक्षाका लागि हो, सडक प्रयोगकर्ताको लागि तर स्कुलमा पढ्ने साना विद्यार्थीहरूले मैले पढेको त शिक्षकका लागि हो भनेजस्तै चालकले पनि ट्राफिक नियम भनेको ट्राफिक प्रहरीका लागि मात्र हो भन्ने ठान्ने गरेको उनले बताए ।

‘यस्तो नियम छैन भनेर आफू पनि र अरूलाई पनि सुरक्षाको खतरामा पार्नुहुन्न दिनानुदिन बढिरहेको सडक दुर्घटनाबारे केही कम गराउनका लागि हामीले ललितपुरमा यस्ता कपडा लगाउने चालकलाई सचेत र दुर्घटनाबारे जनचेतना जगाउने काम गर्न सुरू गरेका छौ,’ उनले भने ।

अहिले पनि उनले प्रत्येक कलेज–कलेजमा दुर्घटना सचेतना कक्षा चलाइरहेका छन् ।

यी सामान्य कुराहरू हुन्, त्यसैले कसैल पनि यसमा ध्यान दिँदैनन् । सबैले थाहा पाएकै कुरा हुन् तर पनि ख्याल गर्दैनन् । हाछेथुले अगाडि भने, ‘यस्तै ससाना लापरबाहीले दुर्घटनाको जोखिम बढाउँछ, ज्यान जान्छ अनि सबले भन्छन्, के हेर्छ ट्राफिक, के गर्छ सरकार ?’

साभार : सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्: