कृषक कफी खेतीमा आकर्षित

ppppझुलन रेग्मी /इलाम   इलामको गोदक–३ मा व्यावसायिक कफी खेती सुरु गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढेपछि कृषक कफी खेतीमा आकर्षित भएका हुन् ।
कुम्भकर्ण एग्रिकल्चर फार्म प्रालि दर्ता गरी व्यावसायिक रुपमा कफी खेती सुरु गरिएको प्रालि अध्यक्ष याम सुवेदीले बताए ।

उनका अनुसार ५५ रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर खेती सुरु गरिएको हो । सुवेदीले ११ सय बिरुवा रोपेर कफी खेती सुरु गरेको जानकारी दिए । कफीको बिरुवा पाँचथरबाट ल्याइएको हो । कफीको बजार अमेरिका, दक्षिण कोरिया, जर्मनी, चीन लगायतका देश हुन् ।

त्यहाँ कफीको अत्याधिक माग छ । नेपालबाट उत्पादित कफी तिनै मुलुकमा निर्यात हुँदै आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको माग अनुसार पूर्ति गर्न नसकिरहेको अवस्थामा व्यावसायिक कफी खेती सुरु गरेको प्रालिका प्रबन्धक भोजराज प्रधानले बताए ।

नेपालको कफी प्रतिकेजी ६ डलरमा बिक्री हुन्छ । ३५ वर्ष अघिदेखि नेपालमा कफी खेती सुरु गरिएको हो । इलाम, गुल्मी, पाल्पा, पोखरा, काभ्रे, स्याङ्जा, ललितपुरलगायतका जिल्लामा व्यावसायिक कफी खेती गरिँदै आएको छ । प्रालिले कफी खेतीको फाइदा, सम्भावना र चुनौतीको विषयमा सरोकारवाला भेला गराइ छलफल समेत गरेको छ ।

गोदकमा आयोजित कार्यक्रमका बीच कफीको बिरुवा रोपेर खेतीको सुरुवात गरिएको हो । कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य काजीमान कागते, बोर्डका पूर्वाञ्चल क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारी, गोदक गाविस सचिव घनश्याम महत, प्रालिका सदस्य पुण्यप्रसाद गुरागाईं, सुकदेल लिम्बू, मानबहादुर मगर, कृषि विकास कार्यालय इलामका प्राविधिक नाथुप्रसाद चौधरी र कफी प्राविधिक हरि दाहाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्: