न्यायाधीश बमका सुटर साउदी जेलमा

04काठमाण्डौ । न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने फरार अभियुक्त सञ्जय इस्माइली मगर तीन महिनादेखि साउदी अरेबियाको जेलमा छन् । अदालतको आदेश चाहिने भन्दै साउदी प्रहरीले नेपाल प्रहरीलाई बुझाउन अस्वीकार गरेको छ ।

नेपाल प्रहरीकै आग्रहमा १० चैतमा मगरलाई साउदी प्रहरीले पक्राउ गरेको थियो । उनलाई लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली साउदी जाने तयारी गरेपछि साउदी प्रहरीले बुझाउन अस्वीकार गरेको हो ।

प्रक्रिया पूरा नभएकाले मगरलाई नेपाल ल्याउन नसकिएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्ल ठकुरीले बताए । ‘उनीहरूको देशको नियमअनुसार अदालतको आदेश चाहिने भएकाले केही लम्बिएको हो,’ डिआइजी मल्लले भने ।

नेपालमा ‘डिपोर्ट’ गर्न त्यहाँको अदालतको आदेश चाहिने भने पनि तीन महिनासम्म साउदी प्रहरीले प्रक्रिया पूरा गर्न सकेको छैन । साउदी प्रहरीले मगरमाथि थप अनुसन्धान गरिरहेको छ । साउदीमा पनि अपराध गरेको हुनसक्ने भन्दै उनीमाथि थुनामा राखेर अनुसन्धान हुँदै आएको छ ।

मगर न्यायाधीश बमलाई गोली हान्ने दुई सुटरमध्ये एक हुन् । अर्का सुटर शिव भनिने करण चौधरीसहित सो घटनाका मुख्य योजनाकार बाबु थापालगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ । फरार मगरविरुद्ध अन्तर्रा्ष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले समेत वारेन्ट जारी गरेको थियो ।

इन्टरपोलकै वारेन्टका आधारमा मगर पक्राउ परेका हुन् । ०६५८३६९१ नम्बरको पासपोर्टमा मगर १९ मंसिरमा साउदी गएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: