पत्रकारले गरे चलचित्रको शुभ मुहुर्त

ppबिर्तामोड । सधैंभरी अरुको विषय र समस्या बोकेर हिँड्ने झापाली पत्रकारहरु बिहीबार एउटा अनौठो र छुट्टै प्रकारको भुमिकामा देखिए । विषय थियो– चलचित्रको । त्यो पनि झापातिरकै परिवेश र कथामा आधारित चलचित्र ‘रिफ्यूजी’को शुभ मुहुर्तमा । त्यसमा उनीहरु आफैं समाचारको विषय बने ।

झापाका पुराना पत्रकार लीला बरालले क्यामेरा अन गरे । पत्रकार एकराज गिरीले साउण्ड सिस्टम सम्हाले । पत्रकार प्रेम आचार्यले क्ल्याप दिए । त्यतिबेलै नरिवल फुटाउन तयार थिए पत्रकार पारस तिम्सिना । त्यतिमात्र होईन, चलचित्रको निर्देशक बनेका पत्रकार तीर्थ सिग्देल ती सबै पत्रकारहरुको जिम्मेवारी र भूमिका सम्झाउँदै चलचित्रका नायक÷नायिकालाई ‘सट’का लागि रेडी पार्दै थिए ।

त्यति नै बेला उनले एक्सन भने । त्यसपछि चलचित्रका नायक र नायिकले शुभ मुहुर्त सट दिए ।

भुटानी शरणार्थीको मायाप्रेमको कथावस्तुमा आधारित चलचित्र ‘रिफ्यूजी’को बिहीबारबाट छायाँङ्कन सुरु भएको छ । एक दर्जनभन्दा बढी चलचित्र निर्माण गरिसकेका झापाली निर्देशक उदय सुब्बा भुटानी शरणार्थीको कथामा आधारित चलचित्र बनाउन यतिबेला पूर्व्तिर व्यस्त छन् ।

भुटानी शरणार्थीको मायाप्रेमको कथावस्तुमा आधारित चलचित्र पूर्वका शरणार्थी शिविरहरुमा छायाँकन गरिने निर्देशक सुब्बाले बताए । देशबिहीन भएर जीवन बिताउनुको पीडाले ग्रस्त एउटा शरणार्थी युवाको मनभित्र उकुसमुकुस भएको भावनालाई प्रेमको माध्यमबाट अभिव्यक्त गरिने कथा चलचित्र ‘रिफ्यूजी’ले उजागर गर्ने निर्देशक सुब्बाले बताए ।

‘शरणार्थी परिवेसको कथा भएपनि यो नितान्त गैरराजनीतिक चलचित्र हो,’ उनले भने– ‘यसभित्र समेटिएको कथाले शिविरको जीवन र शिविर बाहिरको परिवेशलाई उजागर गर्नेछ ।’

कथामा नायक बनेका जीवन लुईटेल शरणार्थी युवा हुन्छन्, जसले आफ्नो देश गुमाउनुको पीडासँगै सुदुर भविष्यको कल्पना गरिरहेका हुन्छन् । उनले आफूले सबैथोक गुमाएको ठानेर मायाप्रेमलाई समेत भुल्न खोज्छन् । तर, नायिका बनेकी गैरशरणार्थी रिस्ता बस्नेत शरणार्थी युवकलाई आफ्नो भविष्य ठान्छिन् । उनीहरुकै प्रेमकथामा चलचित्र अगाडि बढ्छ ।

चलचित्रमा जीवन र रिस्तासँगै महत्वपूर्ण भूमिकाका साथ निर शाह, अशोक शर्मा, दिपक क्षेत्री, मोहन निरौला, राम फागो, भीम केरुङ, दिलप्रसाद याक्सो लगायतको अभिनय रहने छ । चलचित्रमा झापाली युवा सञ्जय न्यौपाने र भुपेन्द्र लिङ्देन ‘मन्त्री’को विशेष भुमिका रहेको छ । चलचित्र छायाँङ्कन झापा, इलाम, मोरङ, सुनसरीलगायतका जिल्लामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: