इलाममा पाँच हजार ४५ अपाङ्ग सेवासुविधा लिनबाट वञ्चित

07इलाम । अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा कार्य गर्ने धेरै सङ्घसंस्था भए पनि इलाममा अझै पाँच हजार ४५ जना अपाङ्गता भएका व्यक्ति राज्यको सेवा सुविधा लिनबाट वञ्चित भएका छन् ।

राज्यले सञ्चालन गरेको कार्यक्रम लक्षित वर्गसम्म नपुग्दा उनीहरु सेवा सुविधा लिनबाट वञ्चित हुनुपरेको हो । उनीहरुमध्ये कतिपय अभिभावकका कारण घरबाट बाहिर निस्कन पनि समस्या छ भने कतिले राज्यले दिने सेवा सुविधाका बारेमा ज्ञान नभएर पनि वञ्चित हुनुपरेको छ ।

महिला तथा बालबालिका कार्यालय इलामले दिएको जानकारीअनुसार, हालसम्म इलाममा सात हजार ६३६ जना अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क छ । तर दुई हजार ५९१ जनाले विभिन्न किसिमका कार्ड लिएका छन् । इलाममा पूर्ण अशक्त २४३ महिला, २८२ पुरुष, अतिअशक्त महिला ३२७, पुरुषको सङ्ख्या ४६० रहेको छ ।

यस्तै, मध्यम किसिमका अपाङ्ग महिला ३९८ र पुरुष ३२१ रहेका छन् । सामान्य किसिमका अपाङ्ग महिला २४४, पुरुष ३१६ जनाले विभिन्न किसिमका कार्ड पाएको कार्यालयले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिले पाउने जम्मा चारवटा कार्डमध्ये रातो कार्ड भएकाले मासिक रु एक हजार र निलो कार्ड भएकाले रु ३०० सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । इलाम जिल्लाको कुल जनसङ्ख्याको २ दशमलव ६ प्रतिशत अपाङ्गता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्: