उत्साहित भएर फर्किए ओली

07काठमाण्डौ । थाइल्याण्डमा स्वास्थ्य उपचार गराएर मंगलबार करीब १२ बजे त्रिभुवन विमानस्थलमा ओर्लंदा एमाले अध्यक्ष केपी ओलीलाई रिसिभ गर्न पुग्नेहरूको घुईंचो लागिसकेको थियो । चेक शर्ट, कालो पाइन्ट र रेडिमेड अस्कोटमा विमानस्थलको आगमन कक्षमा देखा परेका ओलीको चेहरा निकै हँसिलो लाग्थ्यो ।

बैंकक् उड्ने वेला त्यति हँसिला थिएनन्, त्यतिवेला विमानस्थलमा विदाइ गर्न पुगेका पार्टी कार्यकर्ताहरूलाई ओलीले दुःख लुकाएरै भए पनि बिदाइको हात हल्लाएका थिए ।
तर मंगलबार ओली आगमनको उत्साहित तेज अर्कै थियो ।

पार्टीका नेता कार्यकर्ता ओलीको मुहारमा भावी प्रधानमन्त्रीको छायाँ देखेर उत्साहित भए, उता ओली भने बैंकक्मा स्वास्थ्य उपचार सँगै भएको शक्तिकेन्द्रसँगको भेटघाटले उत्साहित थिए । पार्टी र सरकारको उच्च तहमा पुगेका नेताहरू विगतमा पनि विदेशतिर गएर अन्तर्रा्ष्ट्रिय शक्तिकेन्द्रका प्रतिनिधिलाई भेट्ने गरेका थिए ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला त्यतिवेला शक्तिकेन्द्रका प्रतिनिधिसँग भेट गर्न सिंगापुर जान्थे । एमाओवादी अध्यक्ष प्रचण्ड र गिरिजाप्रसादले सिंगापुरको एक होटलमा भेटेर कुराकानी गरेको तथ्य सार्वजनिक भैसकेको छ ।

शक्तिशाली भूकम्प गएसँगै संविधान निर्माणको फास्ट ट्रयाक बाटो खनेर थाइल्याडतिर लागेका ओलीले बैंकक्मा उत्तर र दक्षिणी शक्तिकेन्द्रका प्रतिनिधिलाई भेटेर फर्किएको बताइएको छ । यसको अर्थ ओलीले उपचार गराउँदै गराएनन् भन्ने पनि होइन, स्वास्थ्य परीक्षण र भेटघाटलाई उनले सँगसँगै अघि बढाएका थिए ।

छिमेकी मुलुकको चासो विना नेपालमा न कसैले कुर्सी पाउँछ न कसैको खोसिन्छ । ओली भोलिका दिनमा कुर्सी पाउने लाइनमा छन् भने सुशील कोइराला छाड्नुपर्ने बाध्यताले घेरिंदै छन् ।
यसरी भावी प्रधानमन्त्रीको पद आफैंले पाउने आधार तय गर्न थाइल्याण्ड पुगेका एमाले अध्यक्ष केपी ओलीलाई शक्तिकेन्द्रका प्रतिनिधिहरूले ‘अब तपाईं नै हो प्रधानमन्त्री’ भनेपछि ओली उत्साहित मुद्रामा फर्किएको एक उच्चस्तरीय स्रोतले बतायो ।

यसअघि पनि केपी ओली पटक–पटक थाइल्याण्ड जाने गरेका थिए । उनी सधैं स्वास्थ्य उपचार भनेर जाने गरेको भए पनि हरेक पटक कोही न कोहीसँग भेटघाट हुने गरेको स्रोतको दाबी छ ।
संविधान जति चाँडो घोषणा हुन्छ त्यति आफू कुर्सीको नजिक पुग्ने संकेत पाएपछि नेपाल फर्केका ओलीले एयरपोर्टमा उत्रनासाथ सर्वोच्च अदालतलाई चुनौती दिंदै भने– ‘कसैको आदेशले संविधान निर्माण प्रक्रिया रोकिंदैन ।’

उनले अदालतलाई चेतावनी मात्रै दिएनन् विदेशी शक्तिकेन्द्रले समेत १६ बुँदे सहमति र संविधान निर्माण प्रक्रियाको स्वागत गरिसकेको संकेत गरे । त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने–‘अन्तर्रा्ष्ट्रिय समुदायले समेत संविधान निर्माण प्रक्रियामा दलहरूले गरेको सहमतिको स्वागत गरिसकेका छन् । त्यसैले अब कसैले रोकेर संविधान निर्माण रोकिंदैन ।’ जनआहवान साप्ताहिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: