काभ्रेका पाँच गाविसका बस्ती सार्न सुझाव

00बनेपा । भूकम्पले क्षतिग्रस्त भएको काभ्रेपलाञ्चोकका पाँच गाविसलाई भूगर्भ्विद्हरुले जोखिमपूर्ण भएको भन्दै बस्ती सार्न सुझाव दिएका छन् ।
उनीहरुले जिल्लाको पाँच गाविसमा पुगेर गरेको अध्ययनबाट देखिएको भौगर्भिक अवस्थाबारे राजनीतिक दल, सभासद्, प्रमुख जिल्ला अधिकारीलगायतलाई विस्तृत जानकारी दिँदै त्यस्तो सुझाव दिएका हुन् ।

भूगर्भ्विद्हरुले जिल्लाको दुर्गम गाविस मानिने बोल्देफेदिचे, च्याम्रेङवेसी, नाग्रेगर्गचे, पोखरीनारायणस्थान र पोखरीचौरी गाविसमा स्थलगत अध्ययन गरेपछि सो सुझाव दिएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिए ।

चार दिनको अवधिमा स्थलगत अध्ययन गरेको टोलीमा सम्बन्धितनिर्वाचन क्षेत्रका सभासद् संयोजक रहने गरी विज्ञान तथा प्रविधि मन्त्रालय, खानी तथा भूगर्भ विभागलगायतको सहभागिता रहेको थियो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले त्यस क्षेत्रका अधिकांश बासिन्दा जोखिममा रहेकाले केही पलायन भएका र केहीलाई सुरक्षित स्थानमा लगिएको बताए ।
उनले बस्ती नै जोखिममा रहेकाले गाविसलाई पत्राचार गरेर स्थानीय बासिन्दाको अस्थायी बसोवासको प्रबन्ध गरिने जानकारी दिँदै सङ्कटमा परेकाका लागि खाद्यान्न तथा त्रिपाल जगेडा राखिएको बताए ।

यसबाहेक काभ्रेपलाञ्चोकका २९ गाविसमा पनि भूकम्पका कारण जोखिम बढेकाले स्थानीय बासिन्दा सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् । खासगरी च्याम्रेङवेसी र नाग्रेगर्गचे गाविसका तीन सय भन्दा बढी विस्थापित भएको जिल्ला प्रकोप तथा राहत उद्धार समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: