देशभरका नदीहरुमा जलस्तर बढ्दो, सतर्क रहन निर्देशन

05काठमाण्डौ । मनसुन सक्रिय भएसँगै बिभिन्न जिल्लाका नदीहरुमा पानीको सतहले खतराको संकेत पार गरेपछि उच्च सतर्कता अपनाइएको छ ।

महाकाली नदीमा पानीको सतह अत्यधिक बढेर खतराको सूचक पार गरिसकेको छ भने चितवनको नारायणी, प्युठानको झिम्रुक, सुनसरीको चतरा, बाँकेको कुसुम, काठमाडौंको खोकनामा पानीको सतह बढेर खतराको सूचक नजिक पुगेको छ ।

हेर्नुस् बाढी पूर्वानुमान परियोजनाको रेकर्ड

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गतको मौसम विज्ञान विभाग बाढी पूर्वानुमान परियोजनाका अनुसार महाकाली नदीमा बिहान ११ बजे पछि पानीको सतह बढेर ७ मिटर माथि पुगेको छ ।
महाकाली नदीमा पानीको सतह ५ दशमलब ८० मिटर पुगेपछि खतरा मानिन्छ । महाकालीमा खतराको सूचकभन्दा पनि धेरै माथि पानीको सतह पुगेपछि उच्च सतर्कता अपनाइएको छ ।

बाढीले घर बगायो

महाकाली नदीमा आएको बाढीले दार्चुलाको अपि नगरपालिका(११ बङगाबगडमा एउटा घर बगाएको छ । त्यसैगरी दार्चुलामा महाकाली नदी किनारमा तटबन्ध निर्माणका लागि राखिएका केही बोरा सिमेन्ट र मिक्सर मेशिनसमेत महाकालीको बाढीले बगाएको छ ।

सुरक्षाकर्मीलाई जोखिमयुक्त क्षेत्रमा परिचालन गरी महाकाली नदी किनारका बासिन्तालाई सतर्क रहन भनिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवँरले वर्षा नरोकिएको र पानीको सतह बढ्दै गएकाले सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए ।

भारत प्रवेश निषेध

महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी नाका गड्डाचौकी भएर भारत प्रवेश निषेध गरिएको छ । शारदा ब्यारेजमा चार पांग्र्रे सवारी साधनलाई आवतजावत गर्न बिहानैदेखि निषेध गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।

बनबासा पुल जिर्ण अवस्थामा रहेकाले भारतीय पक्षले एक लाख पानीको क्युसेक पुग्नासाथा आवागमनमा रोक लगाउने गर्दछ ।
दार्चुलाकै छाङगु प्राथमिक विद्यालयसमेत बाढीको जोखिममा परेको छ ।

कैलालीमा पनि सतर्कता

दुई दिनदेखिको मनसुनी वर्षासँगै सम्भावित बाढी र डुवानको खतराबाट जोगिन कैलालीमा पनि सतर्कता अपनाइएको छ । सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समिति, रेडक्रस सोसाइटीको सम्पूर्ण शाखा र विभिन्न संघ संस्थालाई सतर्क रहन भनिएको छ ।

पानी झन् ठूलो पर्छ

जल तथा मौसम पुर्वानुमान महाशाखा काठमाडौंले पश्चिम क्षेत्रमा पानी पर्ने क्रम जारी रहने जनाएको छ । मध्यपश्चिम र पश्चिम क्षेत्रमा ब्यापक वर्षा हुने महाशाखाको पूर्वानुमान छ । अन्य क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने र बाढी आउने महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार विज्ञप्ति निकालेर अरु क्षेत्रको तुलनामा पूर्वी भागमा जोखिम बढी हुने भन्दै सतर्क रहन भनेको छ । शुक्रबार अपरान्ह वा रातिदेखि मध्यक्षेत्रमा पनि भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: