३ बजे बस्ने भनिएको संविधानसभाको बैठक ७ बजेसम्म सारियो

01काठमाण्डौ । सोमबार ३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक साँझ ७ बजेसम्मको लागि स्थगित गरिएको छ । व्यवस्थापिका संसद् सचिवालयका सचिव मुकुन्द शर्माले साँझ सात बजेसम्मलाई बैठक सारिएको जानकारी दिएका हुन् ।

मस्यौदा समितिले तयार पारेको एकीकृत मस्यौदालाई बिहान ११ बजेभित्र सभामुखलाई बुझाउने भनिएपनि अझै सम्म नबुझाएपछि बैठक सारिएको हो । निर्धा्रित समयमा मस्यौदा सभामुखलाई नबुझाएपछि बसेको कार्यव्यस्था समितिको बैठकले संविधानसभाको बैठक सार्ने निर्णय गरेको थियो ।

मस्यौदा समितिले तयार गरेको एकीकृत प्रारम्भिक मस्यौदाको कानुनी र संवैधानिक भाषा मिलाइरहेको हुँदा ढिलाई भएको बुझिएको छ । यता, मस्यौदाप्रति असन्तुष्ट रहेको एमाओवादी भने मस्यौदामा हस्ताक्षर गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलमा रहेको छ ।

एमाओवादी सभासद् रामनारायाण विडारीका अनुसार अहिले मस्यौदा अध्ययन गरिरहेको र विवादका विषय धेरै भए एमाओवादीले हस्ताक्षर गर्ने छैन । ‘अहिले हामी अध्ययन गरिरहेका छौं । हेरौं विवाद धेरै नै भयो भने हामी हस्ताक्षर गर्दैनौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्: