अन्तत: सशस्त्रले पायो पक्राउ अधिकार

01काठमाण्डौ । मन्त्रिपरिषदको विधेयक समितिले सशस्त्र प्रहरी बललाई पनि ‘पक्राउ’ को अधिकार दिने नियमावली पारित गरेको छ । संसदको राज्य व्यवस्था समितिले आफूले अन्तिम टुंगोमा नपुग्दासम्म निर्णय नगर्न दिएको निर्देशनविपरीत विधेयक समितिले नियमावली संशोधन प्रस्ताव स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले समितिलाई अन्तिम निर्णय गर्ने अधिकार दिएको थियो । अब समितिले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि सशस्त्र प्रहरीले आशंकित व्यक्तिलाई सूचना दिएर पक्राउ गर्न सक्नेछ । समितिले गृह मन्त्रालयबाट प्रस्तावित सशस्त्र प्रहरी नियमावली २०७२ लाई परिमार्जन सहित अनुमोदन गरेको हो । यसअघि पक्राउ गर्ने अधिकार नेपाल प्रहरीलाई मात्र थियो । सशस्त्रलाई पक्राउको अधिकार दिँदा दुई प्रहरी संगठनबीच टकराव बढ्ने चिन्ता गृहकै अधिकारीहरू व्यक्त गर्छन् ।

गृहसचिव सूर्यप्रसाद सिलवालले नियमावली परिमार्जनसहित पारित भएको जानकारी दिए । विधेयक समितिमा सिलवालसमेत आमन्त्रित सदस्य थिए । ‘पक्राउ पुर्जी दिने भन्ने नभई पक्राउ पर्ने व्यक्तिलाई पक्राउको सूचना दिने भनेर संशोधन गरिएको छ,’ सिलवालले भने, ‘संशोधन भएर पारित भएको फाइल गृहमा आइपुगिसकेको छैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: