राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका– पोखरेल

01झापा । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमानमा आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दावी गरेका छन् । पार्टीको झापा जिल्ला कमिटीले सञ्चालन गरेको ‘शान्ति र संविधानका लागि सय दिने जागरण अभियान’को समापनका अवसरमा आज बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीसँग सरसल्लाह नगरी ठूला दलले नयाँ कार्यदिशा बनाउन नसकेको आधारमा यस्तो विश्लेषण गरिएको बताए ।

“नेपाली कांग्रेस ओलीले के भन्छन् भनी कान थाप्छ र निर्णय गर्छ; एमाओवादी नेताहरु ओली निवासमा रात साँझ जान्छन् र नयाँ कार्यदिशा तय गर्छन्” एमाले महासचिव पोखरेलले थपे “जनमतको हिसावले संविधानसभा संसदमा आफ्नो पार्टी दोस्रो भए पनि राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा अहिले पहिलो भएको छ ।”

आफ्नो पार्टी जनता भएको भुईंमा उभिएको दावी गर्दै महासचिव पोखरेलले प्रतिकूलतामा एक ढिक्का हुने, आन्तरिक प्रतिष्पर्धामा विश्वास गर्ने र विरोधी तह लगाउन सक्षम पार्टीको रुपमा स्थापित भइसकेको जनाए । जीत–हार, प्रशंसा–आलोचनाबाट हुर्किएको आफ्नो पार्टीले बाहिरका शक्तिसँग जस्तोसुकै प्रतिष्पर्धा गर्ने क्षमताको विकास गरिसकेकोले आन्तरिक प्रतिष्पर्धा र संघर्षलाई सकारात्मक दृष्टिकोणले हेर्न कार्यकर्तालाई सुझाव दिए ।

नेकपा एमालेका संस्थापक महासचिव मदन भण्डारीको ६४औं जन्मजयन्तीको अवसरमा आयोजित अभियान समापन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भण्डारीले पार्टीको नयाँ दृष्टिकोण र कार्यक्रम अघि सारेकै कारण आज जनताको बहुदलीय जनवाद कार्यक्रमले मुलुकमा राजनीतिक दिशा लिएको दाबी गरे ।

उनले आगामी सरकार सहमतीय बन्ने तथा सो सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने पनि सयौं कार्यकर्तामाझ उद्घोष गरे । नयाँ संविधान जारी भए पछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको कार्यकाल समाप्त हुने र नयाँ संविधानका आधारमा सबै पदहरुमा निर्वाचन गरिने राजनीतिक सहमतिका आधारमा भावी सरकारको नेतृत्व एमालेले नै गर्ने निर्णय रहेको सुनाए ।

हालैको महाभूकम्पले तहस नहस पारेको नेपाल अब पुननिर्माणको चरणमा प्रवेश गरेकोले अबको एमाले पुनस्र्थापना र पुननिर्माणको पनि नेता बन्ने गरी चल्ने पार्टी कार्यकर्तालाई आश्वस्त पारे । आफ्नो पार्टीका २९ हजारजना कार्यकर्ताले स्वयंसेवक भई राज्य र स्थानीयबासीलाई कुनै बोझ नवनाई आफ्नो खाएर १४ सय ठाउँमा श्रम शिवीर खडा गरी ३० हजार अस्थायी घर टहरा र १५ सयवटा स्कूल बनाएर योगदान गरेको उनले सुनाए ।

एक महिनासम्म खटेर गरिएको यस्तो श्रम सस्तो लोकप्रियताका लागि नभई विपदमा परेका नेपालीको सेवा गरिएको उनले बताए । नयाँ संविधान तत्काल जारी गरिहाल्ने र नगर्ने दुई कित्तामा ध्रुवीकृत मुलुकी राजनीतिमा एमालेले तत्कालै जारी गर्नुपर्छ भन्ने कित्ताको नेतृत्व गरिरहेको जनाउँदै नेता पोखरेलले यस प्रयोजनका लागि ‘सौदावाजी’ भएको भएपनि नकारात्मक ठान्न नहुने जिकिर गरे ।

जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूकम्प पिडीतको उद्धार र पुनस्र्थापनामा झापाबाट खटिएका स्वयम्सेवकलाई प्रशंशा पत्र प्रदान गरियो । यसैगरी शान्ति र संविधानका लागि सय दिने जागरण अभियानमा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय कमिटी, नगरकमिटी, विभाग, जनवर्गीय संगठन, गाउँ कमिटीहरुलाई महासचिव पोखरेलसहित अतिथिहरुले प्रशंशापत्र वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: