सञ्चार माध्यमप्रति मस्यौदा ‘अनुदार’

03काठमाण्डौ । नयाँ संविधानको प्रारम्भिक मस्यौदामा लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका आम सञ्चार माध्यमहरूलाई अन्तरिम संविधानले दिएको प्रावधानभन्दा पछि हटेर केही अंकुश लगाउन सक्ने खालका प्रावधान राखिएका छन् ।

पत्रकार महासंघलगायत स्वतन्त्रता पक्षधर व्यक्तिहरूले त्यस्तो प्रावधानप्रति विरोध जनाउँदै सच्याउन माग गरेका छन् । स्वेच्छाचारी ढंगले चल्ने खालका व्यक्ति कार्यकारी भूमिकामा पुगे सञ्चार माध्यमहरूलाई अंकुश लगाउन सक्ने खालका प्रावधान मस्यौदामा आएको पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले बताए ।

‘अन्तरिम संविधानका भन्दा केही पश्चगामी प्रावधानहरू यो मस्यौदामा आएका छन्,’ अध्यक्ष विष्टले भने, यदि यही प्रावधान पारित हुने हो भने प्रेस स्वतन्त्रता अपहरण हुने खतरा रहन्छ ।’अन्तरिम संविधानको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रता’ भन्ने शब्द थियो ।

तर नयाँ संविधानको प्रारम्भिक मस्यौदामा ‘पूर्ण’ हटाएर ‘प्रेस स्वतन्त्रता’ मात्र राखिएको छ । ‘यसअघि प्रयोग भइसकेको पूर्ण शब्द किन हटाइयो, यसको पछाडिको कारण के हो, हाम्रो चासो छ,’ विष्टले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: