सुवेदीले उमेर सच्याएको प्रमाण फेला

05काठमाण्डौ । सामान्य प्रशासन मन्त्रालयले विवादास्पद सहसचिव एवं वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले उमेर सच्याएको प्रमाण फेला पारेको छ । सामान्यले निजामती किताबखानाबाट एकाएक गायब पारिएको सुवेदीको व्यक्तिगत फाइल खोज्ने क्रममा त्यस्तो प्रमाण फेला पारेको जानकारी स्रोतले दिएको छ ।

सामान्यद्वारा गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय मोरङ, परीक्षा नियन्त्रण कार्यालय र त्रिभुवन विश्वविद्यालयसित सुवेदीको नागरिकता र शैक्षिक प्रमाणपत्र (उमेर खुलेको) को विवरण माग गरेको थियो ।

जवाफमा परीक्षा नियन्त्रण कार्यालयले सुवेदीको एसएलसीको लब्धांकपत्रमा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख भएको जनाएको थियो । जबकि निजामती किताबखानाको सिटरोलमा उनको जन्ममिति २०१७ असोज १५ उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय र मोरङ जिल्ला प्रशासनबाट चाहिँ सामान्य प्रशासनले मागेको विवरण आउन बाँकी छ । सुवेदीले तीन वर्ष जागिर अवधि बढाउन उमेर घटाई दोस्रो नागरिकता लिएका हुन् ।

उमेर सच्याइएको नागरिकता र सोहीअनुसार मिति मिलाएर शैक्षिक प्रमाणपत्रका नयाँ प्रतिलिपि व्यक्तिगत फाइलमा राख्न लगाई सुवेदीले पुरानो व्यक्तिगत फाइल गायब पार्न लगाएको आशंका सामान्यका अधिकारीको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: