’शौचालयमा सासै रोकिएलाझैँ’

05मोरङ । गोगरीदेवी भगत ६० वर्ष पुगेपछि पहिलोपटक शौचालय पसिन्। यसअघि कहिल्यै शौचालयमा दिसापिसाब नगरेकी उनलाई पहिलोपटक प्यानमा टुक्रुक्क बस्दा निक्कै असजिलो भयो ।

उनले अनुभव सुनाइन् ‘ढोका लगाएर दिसा बस्ने बानी नै थिएन । बाहिरफेर काम टरेकै थियो। चर्पी्भित्र बस्दा पहिलो दिन त दिसा नै आएन। दगुरेर बाहिर निस्किएँ । सास रोकिएझैं भयो ।’

गाउँका अन्यझैं उनी पनि खेतबारीका कान्ला, खोलाकिनार, बाँसझ्याङ र पटुवाबारीमा दिसापिसाब गर्थिन् । ’एक वर्ष भयो घरमा शौचालय बनाएको, अब त बाहिरफेर बस्न लाज लाग्न थाल्यो’, उनले भनिन्, ‘जीवनभरि बाहिरै दिसापिसाब गरेको बानी सुधार गर्न सुरुमा निकै कठिन भयो ।’

बुढेसकालमा बाहिर जानुपर्ने बाध्यता घरमै चर्पी बनेपछि टरेको छ भने साबुनपानीले हात धुने तरिका पनि सिकेकी छन् । मोतीपुर ४ सिंघिया अडवढाकी फूलनदेवी धामी ५८ वर्षकी भइन्। घरमा शौचालय बने पनि उनलाई पस्न मन लागेन । ’पहिलोपटक शौचालय पस्दा सासै रोकिएलाझैं भयो’, उनले भनिन्, ‘गुम्म भएजस्तो हुने ।

केको दिसा आउँथ्यो! निस्किएर बाँसझ्याङतिरै गएर बसें ।’ छोराछोरीको बारम्बारको कचकचसँगै उनले शौचालयमै दिसा बस्ने बानी लगाइन्। हिजोआज उनलाई बाहिरफेर दिसापिसाब गर्न मन लाग्दैन । कलरु सरदार थारू पहिलोपटक शौचालय पस्दा नाक थुनेर बसे। भित्र ह्वास्सै गन्ध आएजस्तो भयो ।

दिसा गर्न खोजे, आउँदै आएन । उनले भने, ‘त्यसपछि त नहुने रहेछ भन्ने सोच्दै लोटामा पानी बोकेर लागें खोलातिर । पहिलो दिन त्यस्तै भयो। शौचालय बनाएको एक महिनासम्म गर्नै सकिनँ। अहिले बानी भयो।’ छोरा, बुहारी र नातीनातिनाले पनि शौचालयबाहिर दिसापिसाब नगर्न भन्दै थारूलाई सम्झाइबुझाइ गरे ।

हिजोआज शौचालयभन्दा बाहिर दिसापिसाब गर्दैनन् उनी । मोतीपुरका धेरै वडामा बुढेसकालमा पाइखाना जानेहरू टोलैपिच्छे भेटिन्छन्। कतिपय त शौचालय पस्दाको अनुभव साटासाट गर्न एकआपसमा ख्यालठट्टा गर्छन् ।

गाउँ खुला दिसामुक्त घोषणा गर्नुभन्दा अघि गाविस कार्यालय, विभिन्न बाल क्लब, सहयोगी संस्था र अगुवाहरूलाई बुढापाकालाई शौचालयमा बस्ने बानी पार्न निकै कठिन भएको थियो ।

गत जेठ २५ गते खुला दिसामुक्त घोषणा भएसँगै सबै गाउँलेका घरमा शौचालय निर्माण भएको छ । गाविस सचिव लीलाराम बास्तोलाले भने, ‘कहिल्यै शौचालयमा दिसापिसाब नगर्नेलाई बानी पार्न निकै चुनौतीपूर्ण थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: