अनुमति विना सञ्चालित विद्यालय बन्द गरिने

धनगढी । ‘हामीले भन्दा टेरेनन्, अब प्रशासन सहयोगमा बन्द गराउँछौं’– शिक्षा अधिकारी कैलालीमा अनुमति बिना सञ्चालित विद्याहरु बन्द गरिने भएका छन् । जिल्ला शिक्षा कार्यालयमा शुक्रबार बसेको विद्यार्थी संगठनहरू, प्याब्सन, एन प्याब्सनसहित सरोकारवालाको संयुक्त बैठकले प्रशासनको सहयोगमा अनुमति विना सञ्चालित विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

स्थानीय प्रशासन र प्रहरीको सहयोगमा गैरकानूनी रुपमा सञ्चालित विद्यालय बन्द गर्ने निर्णय बैठकले गरेको कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए ।

निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले पनि गैरकानुनी रुपमा संचालित विद्यालय बन्दमा सहयोग गर्ने बताएका छन् । विद्यार्थी संगठनहरुले गैरकानुनी विद्यालय बन्द हुनुपर्ने माग गर्दै आएका थिए ।

यसअघि अनुगमनका क्रममा बन्द गर्न निर्देशन दिइएको भए पनि गैरकानूनी रूपमा सञ्चालित विद्यालयहरुले अटेरी गरेका थिए । जिल्ला शिक्षा कार्यालयको निर्देशन नमानेपछि प्रशासनको सहयोग लिन लागिएको शिक्षा अधिकारी सिंहले बताए ।

‘सरोकारवालासहितको अनुगमनको क्रममा अनुमति विना सञ्चालित विद्यालयलाई schoolबन्द गर्न निर्देशन दिएका थियौं तर विद्यालयहरुले हामीलाई टेरेनन्’ उनले भने, ‘अब प्रशासनको सहयोग लिएर त्यस्ता विद्यालयमा ताला लगाउँछौं ।’

सोमबारदेखि गैरकानुनी विद्यालय बन्द गर्ने कार्य सुरू गर्ने निर्णय बैठकले गरेको छ । यसअघि अनुगमनका क्रममा जिल्लामा ८२ वटा विद्यालय अनुमति विना सञ्चालन भईरहेका पाइएका थिए।

जिल्ला शिक्षा कार्यालय, विद्यार्थी संगठनहरु, प्याब्सन, एनप्याब्सनका प्रतिनिधिलगायत सरोकारवालाको टोलीले गत वैशाखमा निजी विद्यालयहरुको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: