‘१६ बुँदे’ पछिको नेपाल

– देशु वनेम/संविधानसभाको दोस्रो निर्वाचन भएको २ वर्ष वितेपछि १६ बुँदे राजनीति शुरु भएको देखिन्छ । यो ‘१६ बुँदे’ भनेको कांग्रेस, एमाले गठबन्धन र एनेकपा माओवादीसँग मधेशवादीको एक खेमा बीचको सम्झौताको दस्तावेज हो ।

यसलाई ती दलहरुले नेपाली जनतालाई नयाँ संविधान दिने रामवाणका रुपमा प्रस्तुत गरिरहेका छन् । हुन त यी पंक्तिहरु लेखिरहँदाको अवस्थामा यसलाई गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले कार्यान्वयन नगर्नु भनी आदेश दिइसकेको छ ।

४ दलले यसको अवज्ञा गर्ने भनी सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् भने केही दलहरुले यसको स्वागत पनि गरेका छन् । यसरी फेरि नेपाली राजनीति ‘१६ बुँदे’को वरिपरि घुम्न थालेको छ ।

धेरैले ‘१६ बुँदेको कारण वैशाख १२ को ७.८ दशमलव रेक्टर स्केलको महाभूकम्पलाई ठानेका छन् । के साँच्चै ‘१६ बुँदे’को कारण महाभूकम्प नै हो त ? या अन्य कुनै कारण छ ? यो विचारणीय कुरो अवश्य हो ।deshu wanem

आजसम्मको नेपाली राजनीति सत्ता र शक्तिको बाँडफाँड र रक्षामा नै केन्द्रित रहेको देखिन्छ । हुन त ‘१६ बुँदे’वाला दलका उच्च नेताहरुले यसको छनक दिन थालेका छन् अर्थात् दिइसकेका छन् ।

नेपालमा नयाँ संविधान किन ? के का लागि निर्माण गर्ने भन्ने प्रश्नको जवाफ ‘१६ बुँदे’ अघि केही प्रष्ट भए पनि ‘१६ बुँदे’ पछि भने त्यसको सान्दर्भिकता केही धुमिल र अस्पष्ट भएको महसुस हुन थालेको छ ।

भनिन्छ, २००७ को क्रान्ति, २०३६ को आन्दोलन र २०४६ को जनआन्दोलनले २५० वर्षदेखिको अन्यायको राज समाप्त गरी नेपाल र नेपालीलाई न्याय र समुन्नति दिन सकेन, त्यसर्थ १० बर्षे माओवादी सशस्त्र जनयुद्धको पृष्ठभूमिमा नेपाली जनताले फेरि पनि २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन गर्नु पर्यो र ४ दर्जन भन्दा बढी मधेशका जनताले प्राणको आहुति दिनु पर्यो ।

यसैको विरासतमा स्थापित मूल्य मान्यता र उपलब्धिहरुलाई रक्षा र संस्थागत गर्न संविधान सभाको गठन र त्यसद्वारा नयाँ संविधान निर्माणको सन्दर्भ नेपाली राजनीतिमा भित्रिएको हो ।

‘१६ बुँदे’ले आफ्नैखाले संविधान त लेख्न सक्ला तर विगतमा अधूरो रहेका नेपाली आकांक्षाहरुलाई सम्बोधन गर्न सक्ला त ? संविधानका पानाहरु मसीले भरिनु मात्रै संविधान निर्माण हुन सक्दैन, त्यसमा त आम नेपालीको आकांक्षा प्रतिविम्वित हुन सक्नु पर्दछ । नेपाली जनताले अहिलेसम्मको सम्पूर्ण आन्दोलनहरुको उपलब्धिहरुलाई मूर्तिकरण गर्न सक्नु पर्दछ ।

‘१६ बुँदे’का रचनाकारहरुले यसलाई गौण ठानी बैशाख १२ को महाभूकम्पलाई मूल कडी ठान्न पुगे भने फेरि पनि नेपाली राजनीति नराम्रो माखे साङ्लोमा नअल्झेला भन्न सकिने आधार त्यति बलियो देखिँदैन ।

नेपाली जनतालाई नयाँ नेपाल बनाउने संविधान चाहिएको छ, न कि, सत्ता, शक्ति, पद, पहुँच र पैसाको बाँडफाँडको बण्डापत्र । नेपाली जनताले “नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार” हुने खालको संविधान स्वीकार्नु पर्ने दुर्भाग्यको परिस्थित सिर्जना नहोस् ।

अन्यथा फेरि अर्को युद्धको श्रीगणेश त्यही विन्दुबाट आरम्भ नहोला भन्ने कुनै आधार छैन ।

प्रतिक्रिया दिनुहोस्: