कांग्रेसभित्र अवज्ञाका धार

ncकाठमाण्डौ । संविधानसभाले फास्ट ट्र्याकमार्फत मस्यौदा संविधान पारित गर्ने तयारी गरिरहँदा सत्ताको नेतृत्व गरेको कांग्रेसभित्र सदन र सडकमा तीव्र अवज्ञाका धारहरू देखा पर्न थालेका छन् ।

पार्टीका प्रभावशाली नेताहरू खुमबहादुर खड्का, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट, हरिबोल भट्टराईलगायतले धर्म्निरपेक्ष संविधानको विरोध र सनातन हिन्दु राष्ट्र नेपालको माग गर्दै सोमबारदेखि राष्ट्रव्यापी आन्दोलनको घोषणा गरेका छन् ।

उता सदनभित्र कांग्रेस सदस्य अमेरशकुमार सिंहले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई बेवास्ता गर्दै मस्यौदा संविधानसभामा पेस गरिएकोमा आपत्ति जनाउँदै भने, ‘सर्वोच्च अदालतको आदेश यो संविधानसभालाई मान्य छैन भने यसले दिने संविधानलाई कसैले किन मान्ने ?’

यी दुई विरोध र अवज्ञाका धारसँगै मस्यौदाका विभिन्न प्रावधानबारे कांग्रेस पार्टीका अन्य सदस्यले पनि तीव्र आक्रोश पोखेका छन् । संविधानसभा सदस्य आरजु राणा देउवाले महिलाप्रति देखाइएको असमान व्यवहारले मस्यौदा हिटलरद्वारा तयार गरिएको आभास भएको बताइन् ।

त्यस्तै डा. शेखर कोइरालाले फेसबुकमार्फत धर्म्निरपेक्षता र धर्म परिवर्तनको प्रावधानबारे कडा विरोध जनाएका छन् । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित दुईदिने छलफलको अन्त्यमा पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस नेताहरू खड्का, रानाभाट, घिमिरे, भट्टराईलगायतले भने, ‘केही राजनीतिक दलभित्रका केही नेताहरूले प्रस्तावित संविधानका नाममा हिन्दु धर्म र मधेसविरुद्ध मुलुक टुक्र्याउने षड्यन्त्र गरेका छन् ।’

खड्काले मधेस र मधेसीका पक्षमा आफूलाई उभ्याउँदै प्रस्तावित मस्यौदा तत्काल संशोधन गरी मधेसी र हिन्दुका पक्षमा आउन प्रमुख दलका शीर्ष नेतासँग आग्रह गरे ।’ मधेसीहरू सन्तुष्ट नभए पुनः द्वन्द्व हुनसक्ने सम्भावना आफूले देखिरहेको चेतावनी खड्काले दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: