पासोमा परेको चितुवालाई चितवन लगियो

03गोरखा । स्याललाई थापेको पासोमा परेको चितुवालाई चितवन लगेर जङ्गलमा छाडिएको छ । गोरखाको पालुङटार नगरपालिका–३ च्याङ्लीस्थित पुर्नेडाँडामा सोमबार पासोमा परेका तीन फिट लामो र दुई फिट अग्लो पोथी माउ चितुवालाई चितवनको टिकौली जङ्गलमा छाडिएको गोरखाका जिल्ला वन अधिकृत जीवनाथ पौडेलले जानकारी दिए ।

‘स्याललाई थापेको पासोमा चितुवा परेको हो’–उनले भने, ‘चितुवालाई पासोमुक्त बनाएर चितवन पठायौँ ।’ स्यालले कुखुरा खाएको अनुमान गरेर गाउँलेले पासो थापेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले चितुवालाई लठ्याएर चितवन लगेको अधिकृत पौडेलको भनाइ छ । स्थानीयवासीका अनुसार गाउँका ५० भन्दा बढी कुखुरा हराएपछि स्यालले लगेको हुनसक्ने अनुमानमा पासो थापिएको थियो । पासोमा स्यालको सट्टा चितुवा परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: