दरबारका कर्मचारी समायोजन गर्ने तीन विकल्प

4काठमाण्डौ । गणतन्त्रअघि दरबारमा रहेर सेवा गरेका कर्मचारीको जिम्मेवारी व्यवस्थापन गर्न तीन विकल्पमाथि छलफल भएको छ । राजप्रासाद सेवाका कर्मचारीलाई निजामती सेवामा समायोजनका विषयमा गठित कार्यदलले समायोजनका तीन विकल्पमाथि छलफल चलाएको हो।

कार्यदलका सदस्यसचिव एवं सामान्य प्रशासन मन्त्रालयका उपसचिव झरेन्द्रप्रसाद चापागाईंका अनुसार पूर्व राजप्रासाद सेवाका कर्मचारीलाई समायोजन गर्नेसम्बन्धी विभिन्न तीन विकल्प तयार गरेको छ ।

जसअनुसार पहिलो विकल्पमा ती कर्मचारीलाई निजामती सेवाकै मिल्दो समूहमा समायोजन गर्ने रहेको छ भने दोस्रो विकल्पमा सर्वोच्च अदालतकै आदेशबमोजिम सबै कर्मचारीलाई दरबन्दी थप गरी प्रशासन समूहमै ल्याएर समायोजन गर्ने रहेको छ ।

यस्तै, तेस्रो विकल्पमा दरबारबाट आएका ती कर्मचारीलाई छुट्टै उपसमूह बनाएर समायोजन गरिने उल्लेख छ ।

                                                                                           विकल्पहरू

                                                                पूर्व राजप्रासाद सेवाका कर्मचारीलाई निजामती सेवाकै मिल्दो समूहमा समायोजन गर्नेे

                                                                सर्वोच्च अदालतकै आदेशबमोजिम सबै कर्मचारीलाई दरबन्दी थपी प्रशासन समूहमै समायोजन गर्ने

                                                                 दरबारबाट आएका ती कर्मचारीलाई छुट्टै उपसमूह बनाएर समायोजन गर्ने

दरबारबाट आएका ती कर्मचारीलाई छुट्टै उपसमूह बनाएर समायोजन गर्नेकार्यदलले तयार पारेको विकल्पसहितको प्रतिवेदन छिट्टै मन्त्रालयमा बुझाउने सदस्यसचिव चापागाईंले जानकारी दिए ।

सामान्य प्रशासन मन्त्रालयले भने पूर्व राजप्रासाद सेवाका कर्मचारीलाई समायोजन गर्ने उपाय खोज्न मन्त्रालयकै सहसचिव बाबुराम अधिकारीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो।

कार्यदलका संयोजक अधिकारीले समायोजनका विकल्पबारे छलफल थालिएको जानकारी दिए । अधिकारीले यसै विषयमा मंगलबार विभिन्न मन्त्रालयका उच्चस्तरका कर्मचारीसँग छलफल गरिएको जानकारी दिए ।

मन्त्रालयले यसै विषयमा छलफल गर्न बुधबार राष्ट्रियस्तरका ट्रेड युनियनका पदाधिकारीलाई मन्त्रालयमा डाकेको छ । पूर्व राजप्रासाद सेवामा रहेका कर्मचारीलाई प्रशासन सेवामा समायोजन गर्ने विषयमा मंगलबार सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी विभिन्न मन्त्रालयका अधिकृत तथा उपसचिवले दरबारमा सोर्सफोर्सका आधारमा प्रवेश गरेका कर्मचारीलाई सीधै निजामती सेवाको प्रशासन समूहमा ल्याउन नहुने भन्दै कडा विरोध जनाए । आजको नयाँ पत्रिकामा सागर पण्डितले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्: