’स्वीकार्य छैन मस्यौदा’

sambidhan 2072काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरी, नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द ’विप्लव’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मंगलबार एउटै मञ्चबाट नयाँ संविधानको वैधानिकता र स्वीकार्यतालाई चुनौती दिएका छन् ।

नयाँ संविधानको मस्यौदाबिरुद्ध कार्यगत एकता हुनसक्ने सम्भावनातर्फ पनि यी तीन नेताहरुले संकेत गरेको छ । सशस्त्र संघर्ष गर्ने उद्घोषसहित नयाँ पार्टी गठन गरेर अर्धभूमिगत रहँदै आएका नेकपा माओवादीका महासचिव चन्दले पराजित र असफल नीतिनियम लाद्ने संविधान मस्यौदाको विपक्षमा रहेको प्रस्ट्याउँदै सहमतिका आधारमा नयाँ संविधान बन्नुपर्ने बताए ।

पहिलोपटक अन्य दलका नेताहरूसँग सार्वजनिक अन्तरक्रियामा सहभागी भएको स्मरण गराउँदै उनले आफूहरूलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र कांग्रेसका नेताहरूले धोका दिएको बताए ।

‘हामी संविधानविरोधी होइनौं। पराजित र असफल नीतिनियम लाद्ने हो भने आन्दोलनको आँधीबेहेरी र क्रान्तिले संविधान लेख्नेछ’, जनअधिकार अभियाननामक संस्थाले आयोजना गरेको ’जनताको संविधान कि एक थान संविधान’ विषयक अन्तरक्रियामा विप्लवले भने, ‘अबको आन्दोलन विगतको जस्तै जनयुद्ध होइन, प्रदीप दाइ (प्रदीप गिरी) र उपेन्द्र यादवसमेत आउने एकीकृत जनक्रान्ति हुन्छ ।’

कांग्रेस नेता गिरीले संविधानको मस्यौदा एक थान संविधानभन्दा माथि जाने नदेखिएको बताए। ‘पीडा, ग्लानि, पश्चाताप र झोकमा संविधान आउन खोजेको छ’, गिरीले भने, ‘कांग्रेस आफूलाई सक्कली लोकतन्त्रवादी ठान्छ ।

सर्वोच्च अदालतको सही आदेश के आधारमा मानेन? सर्वोच्चको नांगो अपमान गर्न पाइँदैन।’ आफूले कांग्रेस(एमालेका सभासद्लाई अन्तरिम संविधानको धारा १३८ अनुसार नामांकन र सीमांकन नगरी संविधान जारी गर्न नहुने प्रावधान उठाउन सल्लाह दिएको पनि उनले बताए । आजकोे अन्नपूर्ण पोष्ट दैनिकमा खवर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्: