कस्ती निर्दयी आमा, चार दिनको छोरालाई बाग्मती नदीमा फलिन्

babyकाठमाण्डौं । बिहीबार विहान करिव ८ बजेतिर एक महिलाले पशुपति आर्यघाट क्षेत्रको बागमती नदीमा हडबडाउँदै जिपर ब्याग हुत्याइन् । महानगरीय प्रहरी बृत्त गौशलाबाट प्रहरी फोहोर फल्न नदिन गस्तीमा थियो ।

महिला ठूलो पोको नै नदीमा फारेपछि प्रहरी दौडिएर गयो । पोकोसँगै महिलालाई समात्यो । प्रहरीले फोहोर फालेको भन्दै महिलालाई पक्राउ गरेको थियो । तर, जब प्रहरीले ब्याग खोलेर हेरे, उनीहरु समेत आश्चर्यमा परे ।

ब्यागमा जिवित शिशु भेटियो । ‘हामीले फोहोर भनेर समातेका हौं’ वृत्तका इन्स्पेक्टर नारायण डाँगीले भने ‘–खोलेर हेर्दा शिशु भेटियो ।’ प्रहरीले सोधपुछ गर्दा बाग्मतीमा चार दिनको छोरा फाल्ने महिला काभे्र गोकुले–५ घर भएकी २२ बर्षीया कन्छीमाया तामाङ भएको खुलेको छ ।

उनका श्रीमान विदेशमा छन् । उनले अवैध सम्वन्धबाट जन्मिएकाले बच्चालाई नदीमा फालेको बयान दिएकी छन् । उनले प्रहरीलाई बताए अनुसार नवजात शिशुको बाबु को हुन् भन्ने समेत थाहा छैन ।

गत मंसिरमा काठमाडौं आउने क्रममा बस चालकसँगको सम्वन्धबाट गर्भ रहेको तर, आफूले चालकलाई अहिले नचिन्ने उनले बताएकी छन् । उनी पाँच दिन अघि मात्र काठमाडौं आएकी थिइन् ।

गाउँमा बच्चा जन्मिँदा अरुले थाहा पाउने भएपछि काठमाडौं आएको हुनसक्ने प्रहरीको अनुमान छ । उनले आफूले जंगलमा नै बच्चालाई जन्म दिएको बयान दिएकी छन् । प्रहरीले शिशु र आमालाई प्रशुति गृह थापाथलीमा लगेर उपचार गराइरहेको छ । मुलुकी ऐन अनुसार शिशु फाल्नेलाई बढीमा चार वर्षसम्म जेल सजाय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: