चलाउन नसकेर दमकल उपयोगविहीन

damkalचितवन । चितवनको रत्ननगर नगरपालिकामा अघिल्लो वर्ष भित्रिएको नयाँ प्रविधिको सुविधायुक्त दमकल चलाउनै मुस्किल भएपछि उपयोगविहीन जस्तै भएको छ । दक्ष प्राविधिक तथा त्यसमा चाहिने आवश्यक रासायनिक पदार्थको अभावमा उक्त दमकलको भरपुर उपयोग हुन सकेको छैन ।

जसका कारण सामान्य आगलागीबाहेक अन्य काम हुन सकेको छैन । रोटरी क्लबको पहलमा बेलायतमा रहेको डिभोन एन्ड समरेस्ट फायर रिसोर्स सर्भिसले नगरपालिकालाई दमकल सहयोग गरेको हो ।

आगो निभाउन प्रयोग गर्नुपर्ने फोम नामको रासायनिक पदार्थ प्रयोग नहुँदा उक्त दमकलले प्रभावकारी काम गर्न नसकेको हो । जम्मा पाँच सय लिटर मात्रै पानी राख्न मिल्ने दमकल भएकाले यति थोरै पानीको सहारामा मात्रै आगो निभाउन सकिँदैन ।

अन्य दमकलमा तीन–चार हजार लिटर पानी हुन्छ । प्रभावकारी बनाउन यसमा फोम नामको विशेष पदार्थ प्रयोग गर्नैपर्छ । विशेष प्रकारको ग्यास प्रयोग गर्दा ठूलो क्षेत्रमा लागेको आगो निभाउन सकिने भए पनि प्राविधिकको अभावमा ग्यास प्रयोगमा ल्याउन नसकिएको नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले जानकारी दिइन् ।

रत्ननगरले चलाउन मुस्किल देखेपछि अहिले प्रमुख जिल्ला अधिकारीलाई सो विषयमा जानकारी गराएको र जिल्लालाई नै चलाउन दिने तयारी गरेको छ । सशस्त्र प्रहरी वा विपद् समितिले प्रयोग गर्न सके प्रभावकारी हुने रत्ननगर नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश ढुङ्गानाले बताए ।

सो दमकलबारे गम्भीर छलफल गरेर अघि बढ्नुपर्ने देखिएको नगरपालिकाका लेखा प्रमुख सीताराम पोखरेल बताए ।

प्रतिक्रिया दिनुहोस्: