नेपाल प्रहरी र सशस्त्रबीच विवाद चर्कियो

police biwadसरकारले सशस्त्र प्रहरी बललाई व्यक्ति पक्राउ पुर्जीको अधिकार दिएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच विवाद चर्किएको छ । सशस्त्रले तीन साताअघि पेस्तोलसहित पक्राउ गरेका व्यक्तिको विषयलाई लिएर गृह मन्त्रालय मातहतका यी दुई सुरक्षा संगठनबीच मनमुटाव चर्किएको हो ।

सशस्त्र प्रहरी बलले गाडी दुर्घटनामा एक व्यक्तिको मृत्यु गराउने आफ्ना चालकलाई बचाउन खोजेको र पेस्तोलसहित पक्राउ परेका व्यक्तिलाई बुझाउने विषयमा नेपाल प्रहरीसँग विवाद बढेको हो ।

दुई संगठनबीच बल्झेको विवाद साम्य पार्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयको कानुन महाशाखाका उपसचिवको संयोजनमा समिति गठन गरिएको छ ।

समितिमा गृह मन्त्रालय प्रहरी प्रशासन शाखाका अधिकृत र जिल्ला प्रशासन कार्यालयका कानुन अधिकृत छन् । समितिलाई गोंगबुबाट कटुवा पेस्तोलसहित पक्राउ परेका व्यक्ति र सीतापाइलामा सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिँदा ज्यान गएको घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ ।

अपराधको ढाकछोप

गत जेठ १५ मा सशस्त्र प्रहरी बलको ना१ख ६५५ नम्बरको ट्रकले सीतापाइलामा ठक्कर दिँदा मोटरसाइकल चालक सरोज बसेलको मृत्यु भएको थियो । दुर्घटनापछि चालकलाई कारबाही गर्नुको साटो उक्त ट्रक मुख्यालयमा लुकाएर राखेको र अर्कै भाडामा चल्ने बसको नम्बर दिएर सशस्त्र प्रहरी बलले अपराधको ढाकछोप गरेको नेपाल प्रहरीको भनाइ छ ।

स्थानीय प्रत्यक्षदर्शीले सशस्त्रकै गाडीले दुर्घटना गराएको कागज गरिदिएपछि मात्र सशस्त्रले दुर्घटना गराउने सवारीका चालक अयोध्याप्रसाद चौधरीलाई नेपाल प्रहरीको जिम्मा लगाएको थियो । सशस्त्रले गत जेठ २७ गते गोंगबुबाट मनराज गुरुङलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो ।

सुराकीका आधारमा बिहान १० बजे पक्राउ गरिएका उनलाई सशस्त्र प्रहरी बलले बलम्बुस्थित महानगरीय सशस्त्र प्रहरी कार्यालयमा लगेर राख्यो । दिउँसो २ बजेमात्र नेपाल प्रहरीलाई पक्राउका विषयमा सूचना दिएको थियो ।

सशस्त्र प्रहरी बलका उपरीक्षकले महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख वरिष्ठ उपरीक्षक उत्तमकुमार कार्कीलाई फोन गरेर पेस्तोलसहित मानिस पक्राउ परेको भन्दै लिन बोलाएका थिए ।

एसपीले पेस्तोलसहित पक्राउ परेका व्यक्तिलाई गणमा राखिएको बताएपछि एसएसपी कार्की लिन जान मानेनन् । हतियार गणमा छ भनेपछि त्यहाँ हतियार बरामद नहुने भएकाले स्वीकार्न नमानेको कार्कीले बताए ।

‘पक्राउ परेकालाई घटनास्थलमा ल्याउन लगाएपछि मुचुल्का बनाएर महाराजगन्ज वृत्तमा ल्याइएको हो, अनुसन्धान पद्धतिअनुसार पेस्तोल बरामद भएको घटनास्थलबाट मात्र काम सुरु हुन्छ,’ कार्कीले भने ।

उनले बरामदी, मुचुल्का र खानतलासी एकअर्कामा जोडिने भएकाले बुझ्न नमानेको बताए । नेपाल प्रहरीले गणबाट आरोपी बुझ्न नमानेपछि सशस्त्र प्रहरी बलले घटनास्थल गोंगबुको चिया पसलमा र्पुयाएर खबर गरेपछि प्रहरीले मुचुल्का बनाएर गुरुङलाई बुझेको थियो ।

पक्राउको कहानी अर्कै निस्कियो

महानगरीय प्रहरी वृत्त महाराजगन्जले गुरुङलाई म्याद थप गरेर अनुसन्धान गर्दा पक्राउको कहानी अर्कै निस्कियो । त्यो हतियार गुरुङको नभई सशस्त्र प्रहरी बलका लागि सुराकीको काम गर्ने पूर्वमाओवादी कमान्डर विनोद कटवालको निस्कियो । पेस्तोलमा ‘सीपीयूएन’ लेखिएको थियो ।

महाराजगन्ज वृत्तका नायब उपरीक्षक सानुराम भट्टराईका अनुसार गुरुङ पक्राउ पर्ने दिन बिहान कटवालले फोन गरेर गुरुङलाई डाकेका थिए । ‘खासमा कटवालको पेस्तोल गुरुङले राखिदिएको रहेछ,’ भट्टराईले भने, ‘पक्राउ गराउने दिन पनि मेरो पेस्तोल ल्याइदिएर आऊ भनेको पाइयो ।’

भट्टराईका अनुसार कटवालले आफू पूर्वमाओवादी लडाकु भएकाले हतियार राख्दा फरक नपर्ने भन्दै गुरुङलाई राख्न दिएका थिए । ‘मैले त साथीलाई विश्वास गरेर उसको हतियार लिएर आएको हो,’ प्रहरी हिरासतमा रहेका गुरुङले भने, ‘आइनपुग्दै खोइ कसले पक्राउ र्गयो, थाहा भएन ।’

गुरुङका अनुसार सशस्त्र प्रहरी बलका कर्मचारीले उनलाई चिया पसलबाट आँखामा पट्टी बाँधे । अनि दुवै हात पछाडि लगेर डोरीले बाँधिदिएका थिए । त्यसपछि गाडीमा राखेर उनलाई बलम्बु र्पुयाई कोठामा राखिएको थियो । त्यहाँ राखिञ्जेल हात बाँधिएको गुरुङले बताए ।

दसवर्षे द्वन्द्वपछि कुनै पनि अपराधमा संलग्न व्यक्तिलाई आँखा छोप्ने या हात बाँध्ने किसिमको कार्य सुरक्षा निकायले गर्दैनन् । तर सशस्त्र प्रहरी बलका कर्मचारीले गरेको यो कार्यले मुलुक अझै सैनिक शासन वा द्वन्द्वमा रहेको झल्को दिने प्रहरी अधिकारीको टिप्पणी ।

कानुनत पक्राउ पर्ने्बित्तिकै नजिकैको प्रहरीलाई जिम्मा लगाउनुपर्ने हुन्छ । तर सशस्त्रले आरोपीलाई ७ घण्टा नियन्त्रणमा राखेको छ । यस घटनामा गुरुङलाई पक्राउ गरेर सशस्त्रले काम देखाउन खोजेको टिप्पणी नेपाल प्रहरीका अधिकारीको छ ।

‘अनुसन्धान बाहिरबाट हेर्दा जति सजिलो छ, भित्र काम गर्न गाह्रो छ,’ गतसाता गृह मन्त्रालयमा नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले भनेका थिए, ‘अनुसन्धानको बाहिरी स्वरूप ग्ल्यामर देखिएर धेरैले मुख मिठ्याएका छन् ।’

उनले त्यही कार्यक्रममा उपस्थित सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई लक्षित गरेका थिए । गृहमन्त्री वामदेव गौतमसमेत उपस्थित उक्त कार्यक्रममा अर्याल र वन्तबीच बोलचाल भएन ।

नेपाल प्रहरीका अधिकारी भन्छन्, ‘सशस्त्र प्रहरीले नियमावलीमा अधिकार पाएकै बेला भएको यो घटनाले उसको व्यक्ति पक्राउ शैली र नियत प्रस्ट हुन्छ । आफ्नै सुराकी परिचालन गरेर सुराकीकै हतियार अरू कसैको हो भन्दै पक्राउ र बरामद गराउनु गलत हो ।’

मुख्य आरोपीलाई लुकाएर राखियो

अनुसन्धानमा संलग्न अधिकारीले गुरुङको बयानपछि पेस्तोलका धनी कटवाललाई पक्राउ गर्न खोज्यो । तर सशस्त्र प्रहरी बलले आफूलाई लुकाएर राखेको कटवाल बताउँछन् ।

प्रहरीले मुख्य अभियुक्त पक्राउ नपरेपछि उनको खोजी जारी राख्यो । त्यो बेला सशस्त्र प्रहरीले ४ दिनसम्म बलम्बुको महानगरीय सशस्त्र प्रहरी कार्यालयमा कटवाललाई लुकाएर राखेका थिए ।

‘प्रहरीले चौतर्फी खोजी गरेपछि उनलाई सशस्त्रले त्यहाँबाट निकाल्यो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘अर्को सुरक्षा निकायले खोजी गरिरहेको छ भनेपछि आफ्नो ब्यारेकमा लगेर लुकाएर राख्नु सरासर गलत हो ।’

सशस्त्र प्रहरीका कर्मचारीले कटवाललाई मोबाइल फोनसमेत अफ गर्न भनेका थिए । कटवालले आफूले सशस्त्रको सुराकी भएर काम गरेको बताए । उनका अनुसार सशस्त्रका कर्मचारीले काम दिनुपर्ने भन्दै जोड गर्ने गरेका थिए ।

‘सशस्त्रले पैसा र लत्ता कपडा दिने गरेको थियो,’ उनले भने, ‘त्यही भएर सूचना दिएको हो ।’ प्रहरीले कटवाललाई झन्डै दस दिन लगाएर पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: