भत्केका विद्यालय बनाउन दाताको १८ अर्ब

poisaकाठमाण्डौ । भूकम्पबाट ध्वस्त विद्यालय निर्माणका लागि दातृ निकायहरूले १८ अर्बभन्दा धेरै सहयोग गर्ने भएका छन् । केही नेपाली संस्थाले पनि विद्यालय निर्माण गर्न सम्झौता गरेका छन् ।

एसियाली विकास बैंक (एडिबी) र जाइकाले विद्यालय भवन निर्माणका लागि झन्डै सवा १८ अर्ब रुपैयाँ (एक सय ८२ मिलियन डलर) दिने प्रतिबद्धता जनाएका छन् । शिक्षा मन्त्रालयका वैदेशिक समन्वय शाखा प्रमुख दीपक शर्माका अनुसार एडिबीले झन्डै आठ अर्ब २० करोड (८२ मिलियन अमेरिकी डलर) र जाइकाले झन्डै १० अर्ब रुपैयाँ (सय मिलियन डलर) दिने प्रतिबद्धता जनाएका छन् ।

पुनर्निर्माण प्राधिकरणमार्फत विद्यालयहरू निर्माण गरिनेछन् । जाइका र एडिबीले विद्यालय पुनर्निर्माणका लागि तीनवर्षे योजना बनाइरहेका छन् । उनीहरूले ‘पोस्ट डिजास्टर निड’का लागि सहयोग गर्ने जनाएका हुन् ।

सम्झौताका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको शर्माले बताए । अनौपचारिक रूपमा एडिबीले दुई सय र जाइकाले दुई सय ५० विद्यालय बनाउने भनेको छ । तर, सरकारले तोकेको मापदण्ड, प्राथमिक, निम्नमाध्यमिक वा माध्यमिक कुन विद्यालय बनाउने भन्ने कुराले विद्यालयको संख्या फरक पर्न सक्ने शर्माले बताए ।

‘प्राथमिक विद्यालय बनाउन थोरै खर्चले पुग्छ, संख्यात्मक रूपमा धेरै हुन सक्छ, तर मावि बनाउन धेरै खर्च हुन्छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: