मानव तस्करी रोक्न कपिलवस्तुमा निगरानी

kapilbastuकपिलवस्तु । मानव तस्करी रोक्न शान्ति पुनस्र्थापना गृह (पीआरसी) कृष्णनगरको पहलमा सीमाक्षेत्रका विभिन्न गाविसमा मानव बेचविखन विरुद्धको समिति गठन गरिएको छ ।

कपिलवस्तुको कृष्णनगर सीमा नाका मानव तस्करीको मुख्य केन्द्रविन्दु बन्दै गएको जनगुनासो अनुसार बेचविखनका घटनालाई सामुहिक रुपमा रोक्न समिति गठन गरिएको हो ।

अहिले जिल्लाको कृष्णनगर नगरपालिका, खुरुहुरिया, गुगौली र गणेशपुर गाविसमा निगरानी समिति गठन भएको छ । मानव तस्करीलाई न्यूनीकरण गर्न अब समितिद्वारा समेत निगरानी बढाइने पीआरसी संयोजक भूमिराज भट्टराईले बताए ।

समिति नै मानव तस्करी विरुद्ध अभियानमा सक्रिय भएपछि बेचविखनका घटनामा तुलनात्मक कमी आउने भट्टराईले दाबी गरे । जिल्लाको कृष्णनगर नगरपालिकामा कार्यकारी अधिकृत हरिप्रसाद पौडेलको संयोजकत्वमा १५ सदस्यीय नगरपालिका स्तरीय मानव बेचबिखन तथा ओसारपसार बिरुद्वको समिति गठन गरिएको छ ।

यस्तै खुरुहुरिया गाविसमा सचिव झलककुमार श्रेष्ठ, गुगौलीमा गणेश गुरागाईं र गणेशपुरमा विजय ठाकुरको संयोजकत्वमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको समिति गठन भएको सहयोगी संस्था पीआर संयोजक भट्टराईले बताए ।

समितिमा त्यहाँस्थित सामाजिक परिचालक, बालसञ्जाल, महिला संजाल, पारालिगल, महिला तथा बालबालिका कार्यालय प्रतिनिधि, स्वयंसेविका, वडा नागरिक मञ्च, सुरक्षा निकाय, मानवअधिकारकर्मी, संचारकर्मी, मानव बेचविखन तथा ओसारपसार विरुद्ध काम गर्ने संघसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् ।

महिला तथा बालबालिका कार्यालय कपिलवस्तुको सहयोगमा पीआरसी कृष्णनगरले गाउँगाउँमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको अभियान संचालन गरेको हो ।

सीमाक्षेत्रका विभिन्न नगरपालिका÷गाविसहरुमा संचालन गरिएको अभियानले विचौलियाहरु निरुसाहित हुने आयोजकको विश्वास छ । समितिले आ आफ्ना क्षेत्रमा भइरहने मानव बेचविखन तथा ओसारपसारका घटनामा विशेष निगरानी बढाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: