सोतीबजारमा बूढीगण्डकीको भेल, ३३ घर विस्थापित

gorkhaगोरखाबजार । अविरल वर्षापछि बूढीगण्डकी नदीमा आएको भेलले गोरखाको थुमी गाविस–६ स्थित सोती बजार बगाएको छ । उर्लेको बूढीगण्डकीको भेलले गएराति १२ बजे बजार बगाएको हो ।

“भेलले पहिले पुछारबजार बगायो”, सोती बजारकी होटल व्यवसायी सपना पन्तले भनिन् “गाउँले बजार छाडेर जङ्गलमा बसेका छन् ।” सोती बजारमा ३३ वटा घर थिए । तीमध्ये पाँचवटाभन्दा धेरै बाढीले बगाएको हो ।

गाउँलेहरु केओरपानी र भलाकस्वाँरा जङ्गलमा सुरक्षित बसेको पन्तको भनाइ छ । भूकम्पले चिराचिरा परेको जमिनमा बूढीगण्डकीको भेल पसेपछि बजारका केही घर बगेका हुन् । भेलले कच्ची घरमा क्षति पुर््याएको छ ।

बूढीगण्डकीको बाढीले बजार क्षेत्र कटान गरिरहेकाले बाँकी घर पनि बग्ने खतरा रहेको पन्तले बताइन् । नेपाली सेना र प्रहरीको टोलीले स्थानीयवासीलाई सुरक्षित ठाउँमा राखेको छ ।

बुधबार बिहान सोती पुगेको सेना, प्रहरीको टोलीले बाढीबाट जोगिएका घरभित्र रहेका सामग्री निकालेको थियो। बूढीगण्डकी उर्लेर सोती बजारमा बाढी पसेको जानकारी पाएपछि मान्वुदेखि सेना, प्रहरीको टोली पुगेको थियो ।

बजार क्षेत्रमा पसेको पानीको बहाव अझै घटेको छैन। आकाशबाट पानी पर्ने क्रम रोकिएकाले केही घन्टामा नदीमा पानीको बहाव घट्ने पन्तले जानकारी दिइन्। “गाउँलेहरु त्रासमा छन्, उनले भनिन् “भूकम्पले बचेको घर बाढीले लग्यो ।”

सेना, प्रहरीको १० जनाको टोली सोतीबजार क्षेत्रमा खटिएको भैरवी दल गणका गणपति प्रमुख सेनानी प्रेमबहादुर थापाले बताए । साथै, सोतीबजार क्षेत्रमा इलाका प्रहरी कार्यालय आरुघाटबाट ११ जना प्रहरीको टोली पठाइएको छ ।

प्रहरी चौकी आर्खेतबाट पनि प्रहरी खटाइएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रविन्द्र खनालले बताए । स्थानीय सोती खोलामा पनि भेल बढेको खनालको भनाइ छ । स्थानीयवासीलाई बाढीबाट जोगाएर सुरक्षित ठाउँमा राखिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्: