‘रातिराति प्रचण्डको पेशा अर्कै रहेछ’

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड २०३३ सालमा गोरखाको आरुघाटमा रहेको भिमोदय माविमा कृषि शिक्षा पढाउँथे । उनी शिक्षक हुँदा चार जना पिएनहरु कार्यरत थिए । ती मध्ये कृष्ण प्रसाद खनाल अलि हर्ताकर्ता थिए । खनालको नजरमा प्रचण्ड त्यतिबेला निकै लोकप्रीय शिक्षक थिए । भेट्दा सबैलाई हालखबर सोध्ने गर्थे । खाए, नखाएको बुझ्न उनी छुटाउँदैनथे । तत्कालीन शिक्षक प्रचण्डको आनिबानी बारे उनले यसरी बताए ।

prachanda photoवि.स. २०३० सालमा नयाँ शिक्षा लागु भएपछि म गोरखाको आरुघाटमा रहेको भिमोदय उमाविमा पिएन पदमा काम गर्न थालेको थिएँ । मैले यही विद्यालयमा पिएनमा काम गरेर आठ वर्ष विताएँ । घरायसी कारणले मैले पिएनको जागिर छोड्नुपर्यो ।

एकल जीवन विताउन परेपछि नै जागिर छोडेको हुँ । हाम्रो यो स्कुल नै व्यावसायीक स्कुल थियो । तत्कालीन कृषि व्यावसायीक स्कुल हो । हामी त्यतिबेला चार जना पिएनहरु थियौं । त्यसमध्ये विद्यालयभरिकै हर्ताकर्ता मै थिएँ ।

जिल्ला सदरमुकाम तिर पर्ने सबै काममा मलाई नै पठाइन्थ्यो ।
म जतिबेला पिएनको काम गर्थें, ३२ र ३३ सालमा प्रचण्ड शिक्षक भएर आउनुभएको थियो । उहाँले कृषि विज्ञान पढाउनु हुन्थ्यो । विद्यार्थीहरुलाई पढाउने कला निकै राम्रो थियो । हामीलाई गर्ने व्यबहार झनै राम्रो लाग्थ्यो । हुन त कुनै पनि शिक्षकले हामीप्रति नराम्रो व्यबहार गर्नुभएन ।

उहाँ आउने वित्तिकै कम्युनिष्ट हुन् भन्ने छट्याउन सकिँदैन थियो । मैले अरुघाट बजारमा सानो लज पनि चलाएको थिएँ । त्यहाँ दुई चार छाक खाना पनि खानुभयो । त्यतिबेलाको मावि स्तरको स्कलमा १८र२० जना शिक्षक थिए । उनीहरुलाई नास्ता पनि म नै बनाउँथे । केही समय उहाँ आरुघाटमा नै रहनुभयो । पछि आरुटारमा डेरा गर्नुभयो ।

प्रचण्डको दिउँसोको पेसा शिक्षण थियो । दिनभर यहाँ पढाउने गर्नुहुन्थ्यो , रातमा छुट्टै पेसा रहेछ । रातमा कम्युनिष्ट पेसा, दिनमा शिक्षक । उहाँले जुन उद्देश्य लिएर आउनुभएको थियो त्यो विद्यालयमा पोख्ने कुरा पनि आएन ।

त्यतिबेला अवस्था पनि त्यस्तै थियो । आरुटारमा बसेरै रातमा कम्युनिष्ट संगठन विस्तार गर्नुहुँदोरहेछ ।
मेरो विचारमा गोरखा जिल्लामा कम्युनिष्ट सिद्धान्तको लागु उहाँले नै गर्नुभएको थियो ।

यहाँबाटै उहाँले पार्टी संगठन बनाउन सुरु गर्नुभएको हो । हुन त एउटा सिद्धान्त सबैको होला । प्रचण्डको पनि कम्युनिष्ट सिद्धान्त थियो ।
त्यतिबेला कम्युनिष्ट हुनु निकै गाह्रो कुरा थियो ।

निर्दलीय पञ्चायती व्यवस्था थियो । दल खोल्नु वा गतिविधि गर्नु पूर्ण प्रतिबन्ध थियो । त्यस्तो बेला उहाँहरुले संगठन विस्तार गर्नुभयो ।
त्यतिबेला संगठन विस्तार गरेर केही होला जस्तो हामीलाई लागेकै थिएन । प्रचण्ड यति ठूला नेता हुन्छन् भन्ने कल्पनामै थिएन ।

पढाउन आएका शिक्षक न थिए । हामी पिउन थियौं उहाँ शिक्षक हुनुहुन्थ्यो । नाता नै त्यहि थियो । सबै आन्तरिक कुराहरु हामीलाई थाहा हुँदैन थियो ।
हामीलाई देखेपछि मायाँ ममता देखाउने गर्नुहुन्थ्यो । उहाँ आउनु हुन्छरे भनेपछि हामीलाई पनि आउँ आउँ लाग्ने भेटुम् भेटुम् लाग्ने हुन्थ्यो ।

३७ सालपछि पहिलेको चुनाव सहित विभिन्न पटक यहाँ आउनुभयो ।
हाम्रो विद्यालयमा पढाउने शिक्षक पुष्पकमल दाहाल थिए । तर जनयुद्धको बेला प्रचण्ड रहेछन् भन्ने कुरा थाहा पाएका हौं । शान्तिप्रक्रियापछि त झनै ठूला नेताको रुपमा देख्न पाइयो ।

प्रचण्डलाई भन्नु
उहाँ यतिबेला ठूलो नेता हुनुहन्छ । उहाँले सामाजिक सामाजिक समस्याहरुलाई भूल्नु हुन्न । सामाजिक मुद्दाहरुलाई अगाडि लैजान मेरो सुझाव छ । मेरो व्यक्तिगत स्वार्थको लागि भन्नु केही छैन ।

सबैको लागि गर्नुपर्छ भनेरै कम्युनिष्ट भएको हो ।
यहाँको सामाजिक समस्याहरु यहाँ बस्दाको समयमा देख्नुभएकै छ । अझै पनि उहाँले मैले भनेको मान्नुहुन्छ । यहाँ यातयातको समस्या छ । पुलको समस्या छ । आरुघाट बजार जोड्ने पुल पक्कि बनाइदिनुहुन्छ भन्ने आशा छ ।

प्रतिक्रिया दिनुहोस्: