साझा प्रकाशनमा वैद्य कामरेडको पनि सेयर छ – शर्मा

02काठमाडौं । साझा प्रकाशन सञ्चालक समितिका सदस्य दीनानाथ शर्माले साझा प्रकाशनमा माओवादी नेता मोहन वैद्यको समेत सेयर रहेको बताएका छन् ।

साझा प्रकाशनमा देशभरिका ५० औं हजार स्रष्टाहरुको सेयर रहेको भन्दै यसलाई डुब्नबाट बचाउन सरकारले २० देखि २५ करोड रुपैयाँसम्म दिनुपर्ने शर्माको माग छ ।
शिक्षा मन्त्रालयले एमाओवादी प्रवक्ता शर्मालाई यसैसाता साझा प्रकाशनको सदस्यमा नियुक्त गरेको हो ।

उनीसँगै एमाले नेता एवं अर्का पूर्व शिक्षामन्त्री प्रदीप नेपाल पनि साझा प्रकाशनको सदस्य बनेका छन् । सञ्चालक समितिको अध्यक्षमा भने बहालवाला सभासदसमेत रहेका पूर्वमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई जिम्मेवारी दिइएको छ ।

बरिष्ठताको हिसाबले प्रदीप नेपाल रमेश लेखक भन्दा अगाडि भए पनि शिक्षामन्त्री चित्रलेखा यादवले आफ्नो पार्टीका नेता लेखकलाई अध्यक्षमा राखेर शर्मा र नेपाललाई सदस्यमा नियुक्ति दिएकी छिन् ।

मन्त्री भइसकेको मान्छेले साझा प्रकाशनमा किन लोभ गरेको भन्ने प्रश्नमा शर्माले  भने( ‘यो कुनै लाभको पद हैन, हामी साझा प्रकाशनका सेयर सदस्य हौं, वैद्यजी पनि साझा प्रकाशनको सेयर सदस्य हुनहुन्छ, हामीलाई शिक्षा मन्त्रालयले राखेछ, यो ठूलो हंगामा गरिरहनुपर्ने विषय होइन ।’

शर्माले आफूहरु साझा प्रकाशनलाई बचाउन त्यहाँ गएको दाबी गरे । उनले भने( ‘हामी लाभ खोज्नलाई डुबेको संस्थामा गएका होइनौं, जोगाउन सकिन्छ कि भनेर गएका हौं ।’

साझा प्रकाशनले किताब छापेवापत लेखकहरुलाई रोयल्टी दिन छाडेको र सो वापत जसको किताब छापिन्छ, उसलाई सेयर सदस्य बनाउन थालेको शर्माले बताए । ‘वैद्यजीको पनि किताब छापेपछि उहाँ सेयर सदस्य बन्नुभएको हो, शर्माले भने( ‘मेरो पनि किताब छापेर म सेयर सदस्य बनेको हुँ ।’

साझा प्रकाशन कहिले वन त कहिले कृषि मन्त्रालय अन्तरगत रहेने गरेकोमा आफू शिक्षामन्त्री भएका बेला सहकारी मन्त्रालयबाट शिक्षा मन्त्रालयअन्तरगत ल्याएको शर्माले बताए ।

उनले भने( ‘मैले यसलाई शिक्षा मन्त्रालय मातहतमा ल्याएको हुँ, यसका देशभर शाखाहरु छन्, यसलाई बचाउनुपर्छ । यहाँ रहेको वैद्यजी लगायत हजारौं स्रष्ठाहरुको सेयर डुब्न दिनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्: