दाहाल–भट्टराईबीच घोचपेच

baburamprachanda photoकाठमाण्डौ । प्रमुख प्रतिपक्षी एमाओवादीका नेताहरू सार्वजनिक रूपमै एक आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आइतबार राष्ट्रिय नाचघरमा आयोजित ’राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियानकर्मी सम्मान’ कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच घोचपेच र आरोप प्रत्यारोप चलेको हो ।

दाहालले पार्टी बुर्जुवाकरणतर्फ अग्रसर भइरहेको, कम्युनिस्ट पार्टी नै भन्न नमिल्ने भइसकेको उल्लेख गर्दै यसले निरन्तरता पाए पार्टी नै विघटन हुन सक्ने चिन्ता व्यक्त गरे ।

’पार्टी्भित्र गुटैगुट बन्ने क्रम चलेको छ, नेतापिच्छे गुट छन्, एउटै जिल्लामा आठवटासम्म समानान्तर कमिटी छन्, यो कम्युनिष्ट चरित्र होइन, बुर्जुवा चरित्र हो ।’ उनले नेता भट्टराईतर्फ संकेत गर्दै अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने, नयाँ पार्टी बनाउनुपर्छ भन्ने, तर व्यवहारमा समानान्तर कमिटी गठन गर्ने भन्दै व्यंग्य गरेका थिए ।

केही दिनअघि भट्टराईले राजधानीमा आफ्नो गुटको छुट्टै भेला गरी सम्बोधनसमेत गरेका थिए । ’हामीबीच कार्य्दिशा र कार्यनीतिमा एकमत छ, सोह्रबुँदे पनि ठीक हो भन्ने, विचार सबै एउटै छ, अनि व्यवहारमा मात्रै किन फरकरफरक गुट बनाउँदै हिड्ने ?’

दाहालको भनाइ थियो । उनले पार्टीमा भएको गल्तीको जिम्मा सबै नेताले हैसियतअनुसार लिनुपर्ने बताए । आफ्नो नेतृत्वमा नै जनयुद्ध सञ्चालन गरी पार्टीलाई यहाँसम्म ल्याइर्पुयाएको उल्लेख गर्दै दाहालले एउटा कथामा आमा बुढो भएपछि मिल्काउन खोजेजस्तै आफूलाई पनि फाल्न खोजिएको हो कि भन्ने प्रश्नसमेत गरेका थिए ।

कार्यक्रममा भट्टराईले एमाओवादी यही स्थितिमा रहे पार्टीको विघटन निश्चित भएको बताउँदै नयाँ परिस्थितिअनुरूपको पार्टी निर्माण हुनुपर्नेमा जोड दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: