प्रचण्डरबाबुरामले असरल्ल बनाएपछि कसले जोगाउँछ पार्टी ?

prachanda-baburamकाठमाण्डौ । भूकम्पपछिको पूनर्निर्माणमा सक्रिय बनेको एमाओवादी निकट अखिल क्रान्तिकारीले सम्मान वितरण गर्ने कार्यक्रम थियो । पार्टी नेतृत्व तहबाट सम्मान ग्रहण गर्न मात्रै होइन राजनीतिक रुपमा प्रशिक्षित हुन समेत राष्ट्रिय नाचघरमा आईतबार ‘राष्ट्रिय श्रम अभियान सम्मान’ कार्यक्रम राखियो । मञ्चमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता बाबुराम भट्टराई, तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ थिए ।

क्रान्तिकारीले देशभर आफूहरुले गरेको पुनर्निर्माणको फोटोहरुको स्लाईडिङ देखाउँदै गर्दा नेताहरु निकै उत्साही भएर हेर्दै थिए । स्लाइडिङ सकिए लगत्तै उपाध्यक्ष नारणकाजी श्रेष्ठले बोले । पार्टी भित्रको पछिल्लो विवादलाई किनारमा बसेर हेरिरहेका उनी माओवादी भित्रको अन्तरविरोध तिर गएनन् ।

‘संविधानको मौलिक हकमा महिलालाई समेट्न सकिएको छैन ।’ उनी भन्दै थिए, ‘महिलाहरुमाथि अन्याय भएको छ ।’ संविधानको मस्यौदाप्रति टिप्पणी गरेपछि श्रेष्ठले सिमाङ्कन पछि मात्रै संघियतासहितको संविधानको ग्यारेन्टी हुने तर्क गरे । उपाध्यक्षको तर्कमाथि कार्यकर्ता खासै उत्साहित थिएनन् ।

र होला उनको भागमा ताली परेन । उपाध्यक्ष श्रेष्ठले बोलेपछि वरिष्ठ नेता भट्टराईलाई उद्घोषकले निम्त्याउँदै गर्दा हलमा ताली र हुटीङ निकै ठूलो आवाजमा गुञ्जीयो । संगठनमा कमजोर भएपनि भट्टराई आम मानिसमा निकै लोकप्रीय नेता हुन् । उनले भूकम्प पछिको राष्ट्रिय राजनीतिको परिस्थितिबाट आफ्नो मन्तव्य सुरु गरे ।

केहि समय भित्रै भट्टराई एमाओवादी भित्रको पछिल्लो असन्तुलन तिर पुगे । ‘पार्टी्भित्र जस्तो असन्तुलन पैदा भएको छ यसलाई मिलाएर जानुपर्छ ।’ उनले भने, ‘नत्र हामीपनि विसर्जनको बाटोतिर जान्छौं ।’ यसो भनेपछि केही समयमै उनी न्यायपालीका, संविधानको मस्यौदा तिर लागे ।

‘जे जस्तो भएपनि हामील संविधान ल्याउँदै छौं, यही उपलब्धीको कुरा हो ।’ यसो भनेपछि भट्टराई फेरी आफ्नै पार्टी भित्रको विवाद तिर छिरे । ‘प्रचण्ड र बाबुराम अंगालो हालेर मात्रै अव पार्टी बच्न सक्दैन ।’

बाबुराम आफ्नो चुरो कुरोमा प्रवेश गर्ने बाटो खोज्दै थिए, ‘यथास्थितिमा हाम्रो विनाश कसैले रोक्न सक्दैन ।’ त्यसपछि उनी आफ्नै अध्यक्ष प्रचण्डतिर कटाक्ष पोख्न पुगे । ‘नेतृत्वको कार्यशैली शतिदेवीको लास जस्तो भएको छ, त्यसरी हिँड्दा वैद्य झरे, विप्लव झरे, जताततै पिठाधीस बन्न थाले, यसलाई रोक्नुपर्छ । ’

उनी आफ्नै पार्टीको विगत तिर लागे, ‘पार्टीको कार्य्निति पहिले देखि नै मनमा विद्रोह, मुखमा संविधान जस्तो निती भएर विभाजित भयो ।’
उनको भनाईमा केही कार्यकर्ताले तालीले साथ दिए । भट्टराईले भाषण अवधिको आधा समय आफ्नै पार्टी नेतृत्व र कार्यशैलीप्रति प्रश्न गरेका थिए ।
उद्घोषकले अध्यक्ष प्रचण्डलाई बोल्न अनुरोध गर्दै गर्दा हलमा छुट्टै उत्साह थियो । अधिकांश कार्यकर्तामा भट्टराईको प्रश्नको जवाफ आउने आशा थियो । आखिर भइदियो त्यस्तै । दहालले मन्तव्यको सुरुवातमा क्रान्तिकारीले देशभर गरेको श्रम अभियानको प्रशंसा गरे ।

कार्यकर्तामा उत्साहको पारो बढ्दै गयो । प्रचण्ड भने भट्टराईको प्रश्नको उत्तर दिन लागे । ‘पार्टी भित्रको अन्तरविरोधबाट नै एउटा पार्टीको गति पैदा हुन्छ ।’ उनले भने ।
त्यसपछि प्रचण्डलाई भट्टराईले सोधेको प्रश्नको उत्तर दिनु थियो ।

नेतृत्वको कार्यशैलीको आलोचना गर्दै नयाँ बनाउनु पर्ने तर्क गरेका भट्टराईलाई प्रचण्डको प्रश्न ओइरिन थाल्यो, ‘नयाँ भनेको के हो ? गुट बनाउने ? समानान्तर समिति बनाउने ? यो माओवादी पार्टी होकी गुटको संगठन ?’
प्रचण्डको यो प्रश्न आउँदै गर्दा हलमा ताली र हुटीङ सुनियो । माओवादीभित्रको पछिल्लो गुटीय अवस्था प्रति प्रचण्डको चिन्ता थियो । ‘पार्टीमा गुटहरु प्रशस्त छन्, समानान्तर कमिटि पनि प्रशस्त छन् , एउटै जिल्लामा अनेकौं गुटहरु छन् ।

यसलाई रोक्न सकिएन भने पार्टी विघटन भएर जान्छ ।’ प्रचण्डबाट प्रश्नको उत्तर पाएका भट्टराई मञ्चमै थिए । एकै मञ्चमा दुई नेताको जुहारी सुन्दै गरेका कार्यकर्ता दुवै नेताको मुहार नियाल्दै थिए ।
‘हामीबीच विचार, कार्य्दिशा एउटै छ, १६ बुँदे ठिक हो भन्नेपनि एकै मत छ, तर पार्टी भित्र संगठन चाहि फरक फरक किन ?’ प्रचण्डको प्रश्न थियो, ‘नयाँ गर्ने भन्नेहरुको भनाई एउटा र गराई अर्को भएर समस्या भएको होइन र ?’
हामीले मात्रै किन जोगाउने ?
प्रचण्ड, बाबुरामको दोहोरी सकिँदा, नसकिदै हलमा कार्यकर्ता्बिच गुनगुन चल्न थाल्यो । राजनीतिक प्रशिक्षण सुन्न आएका अधिकांश कार्यकर्ता दुई नेताको असरल्ल भनाभन सुनेपछि निराश देखिन्थे । केहीमा भने गुटिय पक्षधरता देखिन्थ्यो ।
‘बाबुराम कमरेडले यस्तो मञ्चमा आएर अध्यक्षमाथि प्रश्न नगरेको भए राम्रो हुन्थ्यो ।’ विद्यार्थीका एक नेता भन्दै थिए, ‘अध्यक्षलाई बोल्न बाध्य बनाउने अवस्था आएर हामीलाई पनि अलि असहज जस्तो भयो ।’
कार्यक्रममा आएका धादिङका एक विद्यार्थी नेताले नेताहरुले नै पार्टी विगारेको आरोप लगाए । ‘हरेक पार्टी भित्र अन्तरविरोध हुन्छ । यसलाई कसरी प्रस्तुत गर्ने भन्ने प्रमुख कुरा हो ।’

उनले भने, ‘हामीले अन्तरविरोधलाई जनतामा लैजान हुन्न भनेर जागाउने तर नेताहरु मञ्चमै भनाभन गर्ने ? हामीले मात्रै जोगाउने हो र यो पार्टी ?’
प्रचण्डरबाबुरामको यो दोहोरीको अन्त्य के होला ? कसले जोगाउला उनका पार्टी ? उनीहरु नै जानुन् ।

प्रतिक्रिया दिनुहोस्: