फ्रि भिसा र फ्रि टिकटको निर्णय स्थगित भए वार्तामा आउन तयार

bhupalबिर्तामोड । फ्रि भिसा र फ्रि टिकटमा नेपाली कामदारहरुलाई खाडी मुलुक पठाउने सरकारको निर्णय विरुद्ध आन्दोलनरत वैदेशिक रोजगार व्यवसायीहरु आफ्नो अडानमा केही लचिलो बनेका छन् ।

झापामा रहेका ब्यावसायीहरुले गर्दै आएको आन्दोलन पनी परिवर्तन भएको सघर्ष समितिका अध्यक्ष भुपाल सिवाकोटीले बताए । यसअघि फ्रि भिसा र फ्रि टिकटको निर्णय खारेज गर्न माग गर्दै आएका उनीहरुले पूर्वअडान परिवर्तन गरी स्थगित गर्न मात्रै माग गरेका छन् ।

सिवाकोटीले नेपाल बैदेशिक रोजगार ब्यवसायी संघले फ्रि भिषा र फ्रि टिकटको निर्णय स्थगित गर्दै आयोग गठन गरे वार्तामा बस्न तयार भएको जानकारी दिए ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ४ बमोजिम रोजगारदाता मुलुकसँग द्विपक्षीय सम्झौता गर्नुपर्नेमा रोजगारदाता कम्पनीसँग कुनै छलफल र सम्झौता नगरी फ्रि टिकट र फ्रि भिषाको निर्णय गरिएकाले आफूहरुले अहसमति जनाएको संघर्ष समितिका झापाका अध्यक्ष सिवाकोटीले बताए ।

निर्णय स्थगित गरी उच्चस्तरीय आयोग गठन गरिए आफूहरुले छलफल गर्न सक्ने सिवाकोटीको भनाई छ ।
विगत पाँच दिनदेखि म्यानपावर बन्द गरी आन्दोलनमा उत्रिएका ब्यवसायीहरुले फ्रि भिषा र फ्रि टिकटको निर्णय फिर्ता गर्नुपर्ने लगायतका पाँच सुत्रीय माग अघि सारेको छ ।
बायोमेट्रिक प्रणाली खारेज गर्न माग

ब्यवसायीहरुले कामदारलाई आर्थिक भार पर्ने बायोमेट्रिक प्रणाली खारेज गर्नुपर्ने पनि माग राखेका छन् । यसअघि पनि बायोमेट्रिक प्रणालीको विरोध गरेका ब्यवसायीहरु सम्झौतामा चुकेका थिए ।

वैदेशिक रोजगारका लागि मलेसिया जाने कामदारले ७ सय रुपैयाँ भिषा शुल्क तिर्नुपर्नेमा भिसा प्रोसेसिङका नाममा कामदारबाट थप ३२ सय रुपैया लिने भन्दै स्वीकृति दिइएको भीएलएन नेपाल तत्काल बन्द गर्नुपर्ने पनि ब्यवसायीहरुले माग अघि सारेका छन् ।

त्यस्तै, कोरियामा जीटुजी कामदार पठाउँदा एक लाख लिइरहेको अवस्थामा खाडी मुलुकमा निजी क्षेत्रलाई फ्रि भिषा र फ्रि टिकटको ब्यवस्था हुनुपर्ने निर्णय अब्यवहारिक भएको भन्दै फ्रि भिषा र फ्रि टिकटको शुरुवात सरकारबाटै गर्नुपर्ने तथा वैदेशिक रोजगार ऐन २०६४ कामदार र ब्यवसायीहरुको प्रतिकुल भएको भन्दै तत्काल संसोधन गर्नुपर्ने ब्यवसायीहरुले माग गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायीहरुले आफ्ना कार्यालयहरु बन्द गरी आइतबार पाँचौ दिन पनि वैदेशिक रोजगार विभागमा घेराउ र प्रदर्शन गरेका छन् ।
श्रम तथा रोजगार मन्त्रालयले यही असार २१ गतेदेखि मलेसिया, बहराईन, कतार, साउदी अरब, संयुक्त अरव इमिरेट्स, ओमान र कुवेतको रोजगारीका लागि निःशुल्क भिषा र टिकट उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: