बागमतीमा दुई वर्षपछि नुहाउन सकिने

01काठमाण्डौ । सरकारले साढे दुई वर्ष्भित्र उपत्यकाका सबै खोला तथा नदीलाई ढलमुक्त बनाउने भएको छ । बागमती नदी, धोबीखोलालाई ढलमुक्त गर्ने काम धमाधम भइरहेको छ । बागमती नदीसहित उपत्यकामा धोबीखोला, विष्णुमती, मनोहरा, हनुमन्ते, टुकुचा, बल्खुखोला, नक्खुखोला र खोड्कुखोला छन् । सबैलाई ढलमुक्त बनाउने अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको योजना छ ।

समितिका अनुसार ६ किमी लम्बाईको धोबीखोलाका दुवै किनारामा ढल हाल्ने काम झन्डै आधा सकिएको छ । विष्णुमतीका दुवै किनारामा ढल हाल्ने प्रक्रिया पनि अघि बढेको छ ।

असोजबाट काम सुरु भइसक्ने समितिको दाबी छ । मनोहरा र हनुमन्तेखोलाकिनारमा ढल निर्माणका लागि डिजाइन तयार भइसकेको समितिले जनाएको छ । समितिका अनुसार अबको दुई वर्ष्भित्र दुवै खोलाको काम सकिनेछ । टुकुचा, बल्खु, नक्खु र खोड्कुखोला किनारमा ढल राख्ने काम पनि यसबीचमा सक्ने तयारी भएको समितिको दाबी छ ।

तिलगंगा–शंखमूलसम्मको बागमतीमा दुई वर्षपछि नुहाउन सकिने तिलगंगादेखि मनोहरा दोभानसम्मको बागमती नदी एक वर्ष्भित्र नुहाउन हुने गरी सफा हुने समितिले दाबी गरेको छ ।

सो क्षेत्रको ढल पूर्ण रूपमा ‘ट्याप’ गरिएको समितिले जनाएको छ । एक वर्ष्भित्र नदीका दुवै किनारका सडक कालोपत्रे गरिने भएको छ । दुईतर्फी सवारीसाधन गुड्ने गरी सडक निर्माण हुने भएको छ । पैदलयात्रीका लागि छुट्टै फुटपाथ र साइकल लेनसमेत बन्ने भएको छ । सडक किनारमा बगैँचा निर्माण हुने समितिले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: