जानकी कलेज सञ्चालकलाई कारबाही सिफारिस

kathamandu mapकाठमाण्डौ । विद्यार्थीसँग ८० करोड भन्दा बढी रकम असुलेर फरार भएका जनकपुरको जानकी मेडिकल कलेजका सञ्चालकलाई ठगी मुद्दामा कारबाही गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेज सञ्चालक ओपीप्रसाद पाण्डेसहितको समूहले दोस्रोदेखि चौथो बर्षका ३ सय १७ जना विद्यार्थीसँग न्यूनतम २४ देखि ४० लाख रुपैयाँसम्म उठाएर पठन पाठन ठप्प पारेर फरार भएपछि शिक्षा मन्त्रालयले कडा कदम चालेको हो ।

आइतबार मन्त्रीस्तरीय बैठकले विद्यार्थीसंग रकम असुलेर पनि नपढाएकाले ठगी मुद्दामा कारबाही गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी शिक्षा मन्त्रालयका प्रवक्त हरिप्रसाद लम्सालले बताए । कारबाही सिफारिसको पत्र शिक्षाले सोमबार गृहमा पठाएको हो ।

गृहले कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि प्रक्रिया अघि बढ्छ । मन्त्रालयले बिगतमा दिएको निर्देशन अटेर गरेको, पैसा असुलेर पनि नपढाएको, विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै कारबाही गर्न गृहलाई पत्राचार गरेको हो ।

मन्त्रालयले कलेज सञ्चालकलाई कारबाही गरेर विद्यार्थीसंग लिएको रकम असुलेर अर्को कलेजमा पढाउने व्यवस्था गर्न लागेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: