छतबाट चिप्लिएरै खसेकी थिइन् लतासा ? लतासाको मृत्युको अर्को रहस्य खुल्यो

01काठमाण्डौ । नेपाली सेनाका मेजर विष्णु कार्कीकी पत्नी लतासाको हत्या वा आत्महत्या दुबै नहुन सक्ने आधारहरु फेला परेका छन् । लतासाका माइतीले श्रीमानबाटै हत्या भएको जिकिर गरे पनि सिक्काको अर्को पाटो खोतल्दा कथाको फरक रुप देखियो ।

सुरु गरौं विष्णुकी आमा, ६१ वर्षीया सीता कार्कीको बयानबाट । उनी आफ्नी बुहारी लतासाका विषयमा एउटा पनि नकारात्मक शब्द भन्न र सुन्न चाहन्नन् । अविरल आँशुका धारा बगाउँदै सीताले बुहारीका स्मृतिहरु यसरी उजागर गरिन् ।
‘लक्ष्मीजस्ती थिइन् बुहारी’
सात महिनाअघि बुहारी भित्र्याएको क्षण मेरो जीवनकै खुशीको क्षणमध्ये एउटा थियो । हँसिलो अनुहार भएकी बुहारीको प्रवेशले घर नै उज्यालो भएको जस्तो लाग्थ्यो । हामी सासू–बुहारीको जोडी आमाछोरी जस्तै छ भन्थे सबैले ।

बाहिर हामी हात समाएर हिँडेको देख्दा छिमेकीहरु छक्क पर्थे ।
सात महिनासम्म एकचोटि पनि बुहारीले मेरो चित्त दुखाएको थाहा छैन । उनको व्यवहारमा खोट लगाउने कुरा केही पाइँन । मलाई छोरीले जस्तै माया गर्थिन् । सधैं आफूसँगै खाना खान बसाउँथिन् । ‘एक्लै खाँदा हजुर थोरै खाइसिन्छ’ भन्थिन् ।
मेरो स्वास्थ्यको ख्याल गर्थिन् । पुरुषोत्तम महिना छल्न भनेर १ महिना माइती बस्न गएकी थिइन् । तर, एक हप्तापछि नै मलाई फोन गरेर ‘छोरालाई लिन पठाइदिस्यो न’ भन्दै कर गरिन् । १० दिनपछि छोराले लिएर आयो । मलाई लाग्थ्यो, यस्ती बुहारी भाग्यमानीले मात्रै पाउँछन् ।
उनको माइतीसित पनि हाम्रो सम्वन्ध राम्रो थियो । सम्धिनीसित मेरो धेरै गफ हुन्थ्यो । ‘मेरी छोरी हजुरको पोल्टामा हालिदिएकी छु है’ भन्नुहुन्थ्यो सधैं । बुहारीलाई हामीले गर्ने व्यवहारका विषयमा कहिल्यै कुनै गुनासो गर्नुभएन । म थुप्रैचोटि सम्धिनीकहाँ गएर खाना खाएकी छु ।
छोराबुहारीबीच कुनै खटपट थियो कि थिएन, मैले कहिल्यै थाहा पाइँन । मेरा अगाडि दुबैजना मिलेका, रमाएका नै हुन्थे । बाहिर घुम्न गइरहन्थे । बिहेलगत्तै पोखरा गए । केही समयअघि भारत पनि गए । न छोराले कहिल्यै बुहारीको विषयमा मसित नराम्रो कुरा र्गयो, न बुहारीले छोराको केही कुरा गरिन् । उनीहरुबीच ठूलै झगडा हुँदो हो त मैले अलिअलि अनुमान लाउथेँ होला । अहँ, त्यस्तो भएजस्तो लाग्दैन ।
त्यसदिन छोरो अफिसबाट घर आयो । किन हो, अलि उदास थियो । सर्टको टाँक खोल्दै उ भित्र पस्यो । छोरा–बुहारीले केही बोलेको सुनिनँ । बुहारीले फोनमा कुरा गरेको पनि मैले थाहा पाइँन ।02
एक छिनपछि म बाहिर बार्दलीमा निस्केर पल्लो घरकी बहिनीसित गफ गर्न थालेँ । ती बहिनी दोस्रो तल्लाको बार्दलीमा थिइन् । अचानक उनी हाम्रो छतमा देखाउँदै चिच्याइन् । केही बेरअघि बुहारी माथी छतमा उक्लेको थाहा पाएकी थिएँ ।

मलाई के अनिष्ट भयो भन्ने लाग्यो । म माथि जान नभ्याउँदै ठूलो आवाज आयो । त्यसपछि के भयो मलाई केही थाहा छैन । मध्यरातमा मात्रै मेरो होस खुल्यो ।
मेरी बुहारीको लास ५ दिनसम्म अलपत्र र्पयो । उनको आत्मा कति छट्पटियो होला । मैले उनको मुखमा एक थोपा पानी हालिदिन पनि पाइनँ । आफूलाई एउटी अभागी सासू सम्झेकी छु ।
बुहारीका माइतीले हामीमाथि नानाथरी कुरा गरिरहेको सुनेकी छु । मलाई केही भन्नु छैन । आफ्नी छोरीको मृत्यू कसरी भयो भनेर सोध्न पाउने हक उहाँहरुलाई छ । यतिबेला मलाई भन्दा उहाँहरुलाई ठूलो चोट परेको होला । उहाँहरुलाई चोट सहने शक्ति भगवानले दिउन् ।
तर, हाम्रो चोट पनि त सानो छैन । छोरो इन्तु न चिन्तु अवस्थामा छ । म आफैं अहिलेसम्म सम्हालिन सकेकी छैन ।
विक्षिप्त अवस्थामा मेजर
नीलो रंगको तीन तल्ले घर भाडामा लिएर बसेका रहेछन् कार्की परिवार । पहिलो तल्लाको ढोका ढक्ढक्यायौं । ढोका खुल्यो । भित्र एक युवक टाउकोमा हात राखेर भूईंमा बसिरहेका थिए । नमस्ते गर्दै हामीले आफ्नो परिचय दियौं । उनले बस्न आग्रह गरे । मेजर कार्की उनै हुन् भनेर चिन्न कठिन भएन । उनी विक्षिप्त अवस्थामा देखिन्थे । आँखाहरु धसिएका र उजाड थिए । स्वर भासिएको थियो ।
‘म त अहिले मिडियासित केही बोल्न मिल्दैन,’ मेजर कार्कीले सुरुमै भने, ‘प्रहरी अनुसन्धान भइरहेकाले अहिले नबोल्नु भन्ने हेडक्वार्टरको आदेश छ ।’ एकातिर श्रीमतीको मृत्यु र अर्को्तिर आफूमाथिका लाञ्छनाहरुले विष्णु आहत भएको त्यहीँ बसिरहेका एक आफन्तले बताए ।
ती आफन्तका अनुसार घटना भएको दुई दिनसम्म उनी अर्द्धचेत अवस्थामा थिए । अहिलेसम्म राम्रोसित खान र निदाउन सकेका छैनन् ।
हामी गएपछि त्यहाँ थप आफन्त र छरछिमेकी जम्मा भए । सबैले एक स्वरमा भनिरहेका थिए, ‘श्रीमान–श्रीमतीबीच औधी प्रेम थियो ।’ कसैले त श्रीमतीलाई पुल्पुल्याएर राखेको थियो पनि भने ।
लतासाको मृत्युपछि सीमित कुराहरु विष्णुले साथीहरुसित सेयर गरेका रहेछन् । एक मित्रले विष्णुको भनाइ उद्वृत गर्दै भने, ‘लतासा अलि जिद्दी स्वभावकी थिई । आफूले भनेको कुरा भएन भने औधी घुक्र्याउँथी ।

रिसाएको बेला सँधै अप्ठेरो ठाउँ खोजेर बस्ने स्वभाव थियो । अनि लोग्नेले उठाएर बोकेको, ‘सरी बेबी’ भन्दै फकाएको उनलाई मन पर्थ्यो । त्यसो तर, त्यो दिन चाहिँ विष्णु किन झुक्ने भनेर नबोली बसेका थिए ।’
बर्थ डे गिफ्ट अलपत्र03
घटना भएको भोलिपल्ट विष्णुको जन्मदिन थियो । लतासाले सरप्राइज गिफ्ट ल्याइसकेकी थिइन् । उनले ल्याएको एक्वारियम अहिले भान्साको टेबुलमा झोक्राइरहेको छ ।
लतासाको मृत्युपछि मात्र उनले ल्याएको गिफ्ट परिवारले फेला पारेका थिए । यसअघि श्रीमतीको जन्मदिनमा पनि विष्णुले सरप्राइज गिफ्ट दिएका थिए ।
त्यो दिन के भयो ?
त्यस दिन लतासाले पटक पटक अफिस गएका श्रीमानलाई फोन गरेर चाँडै घर आउन भनेकी थिइन् । विष्णुले नमानेपछि उनी नराम्रोसित रिसाइन् । दिउँसो तीन बजे विष्णु घर आउँदासम्म उनले खाना खाएकी थिइनन् ।
विष्णु घर आएर पनि लतासासित नबोली बसिदिए । रिसाएका बेला सधैं फकाउने श्रीमान त्यसदिन नबोली बसेपछि लतासा व्यग्र बनिन् । यसअघि उनले धरानमा रहेकी आमा र आफ्नी कलेजकी साथी अनिमासित कुरा गरेकी थिइन् ।
आमासित फोनमा उनले ‘हजूरको ज्वाईं मसित बोलिसिन्न’ भन्दै रोइकराइ गरेकी थिइन् । आमासित उनको ३ः४१ सम्म कुराकानी भाइबरमा भएको थियो ।
श्रीमानसित कुनै बोलचाल नभएपछि लतासा झोक्किँदै छतमा उक्लिन् । विष्णु पहिलेजसरी उनलाई फकाउन गएनन् । सासूले पनि खासै चासो दिइनन् ।

04
                                                                                        प्रत्यक्षदर्शीको बयानका आधारमा बनाइएको स्केच
कसरी खसिन् लतासा ? (प्रत्यक्षदर्शीको भनाइ)

 

लतासा छतमा उक्लिँदा सामुन्नेमा रहेको घरमा बस्ने निनी आफ्नो घरको बार्दलीमा भदाहा खेलाइरहेकी थिइन् । आफूले देखेको दृश्य उनर्ल यसरी सुनाइन् ।
म बार्दलीमा थिएँ । सीता आन्टी पनि बार्दलीमा नै हुनुहुन्थ्यो । हामी बार्दली(बार्दलीमै गफ गरिरहेका थियौं । एक्कासी छतको अगाडिपट्टि स्लोपमा लतासा भाउजूलाई देखेँ ।

उहाँ स्लोपमा दुई खुट्टा टेकेर टुक्रुक्क बस्नुभएको थियो । दुबै हातले पनि टेक्नुभएको थियो ।
म ‘लौन के गर्नुभएको ?’ भन्दै चिच्याएँ । लतासा भाउजू अलि आत्तिएझैं गरी पछाडि फर्केर हेर्नुभयो । त्यत्ति नै बेला उहाँको खुट्टाको ब्यालेन्स बिग्रियो ।

अलि–अलि पानी परेकाले सायद उहाँको खुट्टा चिप्लियो, र ह्रवात्तै तल खस्नुभयो । खस्दाखेरि उहाँ चिच्याएको आवाज आएन । सायद आतेसले गर्दा चिच्याउन सक्नुभएन ।
९० डिग्रीमा खसिन्
घटनास्थलको प्रकृति हेर्दा पनि लताशाले माथिबाट जानाजान हाम्फालेकी होइनन् भन्ने अनुमान गर्न सकिन्छ । घरको छतमा रहेको स्लोप र उनी तल खसेको स्थान लगगभ धागो तानेजस्तो सिधा छ । फाल हालेकी भए पर पुग्थिन् होला ।
माथिबाट खस्दा कम्पाउण्ड वालमा रहेको फलामे बारको चुच्चोमा उनको शरीर अल्झेको देखिन्छ । फलामे बारको एउटा चोसो नै भाँचिएको छ । त्यसमा अल्झेका कारणले नै उनी घोप्टिएर टाउको तल बजारिएको अनुमान गर्न सकिन्छ ।
लतासाका माइती पक्षले उनी खसेको भनिएको स्थानमा रगतको थोपा पनि नदेखिएको भन्दै आशंका व्यक्त गरेका छन् । तर, विष्णुका आफन्त र छिमेकीहरु भने केहीबेरमा भएको भारी वर्षाले रगत पखालेको बताउँछन् ।
होहल्ला भएपछि तत्कालै वरपरका मानिसहरु घटनास्थलमा जम्मा भएका थिए । त्यहीँ नजिकै घर भएका विष्णुका ठूलोबुवाका छोराले गाडी निकालेर उनलाई १० मिनेटमा हस्पिटल र्पुयाए । विष्णु पनि सँगै गए । हस्पिटल र्पुयाउनुअघि नै लतासाको मृत्यू भइसकेको थियो ।
डाक्टरले मृत घोषित गरेपछि विष्णु निकैबेर अचेत भएको उनका दाजुले सुनाए ।
लतासालाई अस्पताल लगिसकेपछि विष्णुकी बहिनीले लतासाको माइतीघरमा फोन गरी घटनाबारे जानकारी दिएकी थिइन् । लतासाको परिवारले विष्णु आफैंले किन फोन गरेनन् भन्ने प्रश्न उठाएका छन् ।

तर, विष्णुका आफन्त उनी फोन गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् ।
डाक्टरले मृत घोषित गरेपछि लतासाको शवलाई ग्राण्डीबाट पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगियो । लतासाका बाबुआमा धरानबाट गाडी रिजर्भ गरी राति २ बजे काठमाडौं आइपुगे ।

उनीहरु आउँदा शवलाई टिचिङ र्पुयाइसकेको थियो । लतासाका हजुरबुवाले मुचुल्कामा सही गरेका थिए ।
भोलिपल्ट बिहान महाराजगञ्ज प्रहरीमा पुगेर लतासाका बाबुआमाले ज्यानसम्वन्धी जाहेरी दर्ता गरे । उनीहरुले ज्वाइँ विष्णुविरुद्ध किटानी जाहेरी दिन चाहे पनि प्रहरीले लिन मानेन ।

महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी प्रमुखले जाहेरीमाथि अनुसन्धान भइरहेको बताएका छन् । ‘अहिले निस्कर्ष आइसकेको छैन, त्यसैले यसबारे केही बोल्नु हतार हुन्छ,’ उनले भने ।
सलामीसहित अन्त्येष्टि
टिचिङ हस्पिटलबाट शव निकाल्ने बेलामा दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । लतासाको माइतीपक्षबाट ल्याइएको भिडले शव श्रीमानको जिम्मा लगाउन अवरोध र्गयो । विष्णुलाई ठूलो संख्यामा प्रहरीले सुरक्षा दिएर पशुपति आर्यघाटसम्म र्पुयाएका थिए ।
आर्यघाटमा नेपाली सेनाको टुकडीले लतासालाई सलामी अर्पण गरेको थियो । सेनाका अधिकृतकी पत्नी मृत्यु हुँदा सेनाले सलामी दिने प्रचलन छ । अन्त्येष्टिमा माइती पक्षका व्यक्तिहरु न्यून संख्यामा उपस्थित थिए ।
के छ पोष्टमार्टम रिपोर्टमा ?
लतासाको शवको पोष्टमार्टमको औपचारिक रिपोर्ट अस्पतालले दिएको छैन । स्रोतका अनुसार पोस्टमार्टममा उनलाई कुनै किसिमको शारीरीक यातना दिएको पाइएको छैन । उनको खप्पर फुटेर अत्यधीक रक्तस्राव हुँदा मृत्यु भएको देखिएको छ ।
तर, पोष्टमार्टम रिपोर्टप्रति माइतीपक्षले असन्तुष्टि जनाएका छन् । लतासाका भाइले भने, ‘टाउको कसरी फुट्यो भनेर सोध्दा डाक्टरले प्रहरीलाई सोध्नु भन्छन् प्रहरीले डाक्टरलाई सोध्नु भन्छन् । डीएसपीले आफूहरुकहाँ पोष्टमार्टम रिपोर्ट आइनसकेको बताए ।
प्राप्त लतासाको शवको तस्बिरमा उनको एउटा आँखा निलाम्य भएर सुन्निएको देखिन्छ । टाउको ठोक्किदा आँखामा रगत जमेको अनुमान गरिएको छ ।
भ्वाइस रेकर्ड गरेको दाबी
लतासाकी साथी अनिमाले लतासाको बोलेको भ्वाइस रेकर्ड गरेर विष्णुले राखेको र त्यसलाई केही दिनदेखि लतासाले इस्यू बनाइरहेको बताएकी छिन् । अनिमाका अनुसार लतासाको पहिलेदेखि नै एक्लै बोल्ने आदत थियो ।
‘केही दिनअघि एक्लै बोलिरहेका बेला श्रीमानले भ्वाइस रेकर्ड गरेको लतासाले सुनाएकी थिइन् । त्यो रेकर्ड फेमिलीमा अरुलाई पनि सुनाएर हैरान पारेको बताएकी थिइनु अनिमाले भनिन् । रेकर्डमा के थियो भन्नेचाहिँ लतासाले नखुलाएको उनको भनाइ छ ।
निस्कर्ष
यो कुनै निस्कर्ष होइन, सामान्य आँकलन हो । तीन दिन लगाएर गरेको रिपोर्टिङका क्रममा लतासाका माइती पक्षले लगाएको हत्याको आरोपलाई पुष्टि गर्ने आधार देखिएन । तर, घटनाको परिवेस, घटनस्थलको प्रकृति र प्रत्यक्षदर्शीको भनाइका आधारमा यो आत्महत्याको जस्तो पनि देखिँदैन ।
त्यसोभए के यो एक दुखद दुर्घटना थियो ? के उनी चिप्लिएरै खसेकी थिइन् ? के उनी श्रीमानलाई घुक्र्याउनकै लागि मात्र घरको स्लोपमा गएर बसेकी थिइन् त ? यी प्रश्नहरुलाई प्रहरी अनुसन्धानले मात्रै पुष्टि गर्न सक्छ ।
घटनाको अर्को पाटो भनेको विष्णु र लतासाको सम्वन्ध हो । के भित्रभित्र विष्णु र लतासाको वैवाहिक जीवन तनावग्रस्त थियो ? के लतासाको माइतीले आरोप लगाएजस्तो विष्णु आफ्नी सुन्दर श्रीमतीप्रति अत्यधीक शंकालु थिए ?

के उनले श्रीमतीलाई कुनै किसिमको मानसिक टर्चरमा राखेका थिए ? यी लगायत कतिपय प्रश्नहरुबारे चाहिँ मेजर कार्कीले नै कुनै दिन मुख खोल्नुपर्ने हुन्छ । जुन यसपटकको भेटमा सम्भव भएन ।

 

-चिरञ्जीवी पौडेलद्धारा तयार पारीएको यो रिर्पोट आजको अनलाइनखवरमा छ । 

प्रतिक्रिया दिनुहोस्: