वैज्ञानिक व्यवस्थापन कार्यक्रम सुरु

ilamइलाम । जिल्लाको दक्षिण–पूर्वी क्षेत्र कोल्बुङमा रहेको नमुना सामुदायिक वनलाई व्यवहारिक रुपमा नमुना वन बनाउन अभियान सुरु भएको छ । वन क्षेत्रले ओगटेको कूल ४३० हेक्टर क्षेत्रफलमध्ये १.५५ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ ।

मेची राजमार्गको किटेनी खण्डमा दायाँबायाँ फैलिएको वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत ‘नमुना वन सम्बद्र्धन प्रदर्शनीस्थल’ बनाउने अभियान सुरु भएको हो । जिल्ला वन कार्यालयको सहयोगमा इलाका वन कार्यालय हाँसपोखरीमा पर्ने यस सामुदायिक वनको १.५५ हे. रहेका चिलाउने, साल, कुम्भीलगायत अन्य बोट बिरुवाको संरक्षण गरिने भएको छ ।

उक्त क्षेत्रफलमा ५५ वटा चिलाउने, ४१३ वटा सालका पोल, १४० वटा सालका रुख तथा १६३ वटा बिरुवा रहेको सहायक वन अधिकृत विन्दनारायण झाले बताए । सामुदायिक वनलाई प्रदर्शनीस्थल बनाउन त्यहाँ भइरहेको भूक्षय, गल्छी कटान नियन्त्रण, चोरी तस्करी नियन्त्रण जस्ता क्रियाकलाप सुरु गरिएको छ ।

भूक्षय तथा गल्छी नियन्त्रणका लागि तारजाली लगाउने, चिलाउनेका पोथ्रालाई क्रमशः विस्थापित गर्नेलगायतका काम गरिएको छ । प्रदर्शनीस्थल निर्माणका लागि वन कार्यालयले चालु आवमा उक्त सामुदायिक वनलाई रु १५ हजार बजेट विनियोजन गरेको नमुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्र शेर्मा बताउनुहुन्छ ।

नमुनाको रुपमा वनलाई विकास गर्न बजेट यो बजेट पर्याप्त नभएपछि सामुदायिक वनले समेत केही विनियोजन गरेर आफ्नै पहलमा काम गरिरहेको शेर्माको भनाइ छ । वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि उपभोक्ताले ३४ वटा टोली बनाएर दैनिक गस्ती गर्न थालेका छन् ।

वनमा हुने चरिचरन नियन्त्रण, सालको बिरुवा संरक्षण गर्ने काम हेरालुले गर्छन् । सालको बिरुवा संरक्षण गर्दै चिलाउनेलाई विस्तारै विस्थापित गराउन थालिएको उपभोक्ता समूहले जनाएको छ ।

राजमार्ग नजिकै भएकाले विभिन्न क्षेत्रबाट अवलोकनका लागि आउने भएकाले यहाँ प्रदर्शनीस्थल समेत निर्माण गरिने उद्देश्य रहेको वन समूहले जनाएको छ । वनलाई बायो इन्जिनियरिङ पद्धतिबाट व्यवस्थापन थालिएको उपभोक्ता समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: