बजेटमा एमाले–कांग्रेसबीच सहमति

bajetकाठमाण्डौ । एमालेले अघि सारेका धेरै माग बजेटमा समावेश गर्न अर्थमन्त्री डा. रामशरण महत तयार भएपछि बजेटमाथिको विवाद मिलेको छ । सहमतिसँगै संसदबाट पेस्की खर्च विधेयक पारित भएको छ ।

संयुक्त सरकारको भावनाविपरीत बजेटमा कांग्रेसीकरण भएको भन्दै एमालेले विरोध जनाएको थियो । बिहीबार बसेको एमाले स्थायी समिति बैठकले बजेटका विषयमा अर्थमन्त्रीसँग छलफल गर्न उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र प्रमुख सचेतक अग्नि खरेल रहेको कार्यदल बनाएको थियो ।

कार्यदलले अर्थमन्त्री महतसँग छलफल गरेको थियो । मध्यपहाडी लोकमार्गलाई पुष्पलाल नामकरण गर्न, मदन भण्डारीको नाममा झापामा रंगशाला निर्माण गर्नेलगायतका विषयमा अर्थमन्त्री तयार भएपछि सहमति भएको हो ।

एमालेले उठाएको वृद्धवृद्धासँग मनमोहन कार्यक्रम भने बजेटमा नराखिने भएको छ । बरु, मनमोहन सरकारका पालामा सुरु भएको आफ्नो गाउँ आफैँ बनाऊँ कार्यक्रमलाई भने निरन्तरता दिइने भएको छ ।

‘हामीले भनेका सबै कुरा त सम्बोधन भएनन्, तर धेरै कुरा सम्बोधन गर्न अर्थमन्त्री तयार हुनुभयो, अब बजेट पास हुनबाट रोकिँदैन,’ कार्यदलका सदस्य पौडेलले भने । कांग्रेसका दिवंगत सभासद् हरि खड्कासँग तुलना गरेर मदन भण्डारीको अपमान गरिएको, मध्यपहाडी राजमार्गबाट पुष्पलालको नाम हटाइएको भन्दै एमालेले चर्को आपत्ति जनाएको थियो ।

संशोधन नगरिए संसद्बाट बजेट पारित हुन नदिने एमालेको रणनीति थियो । बजेटमा कांग्रेस नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नाममा मात्रै कार्यक्रम राखिएकोप्रति एमालेले आपत्ति जनाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: