साउदी र कुवेतसँग श्रम सम्झौता छिट्टै

pararasta mantralayeकाठमाण्डौ । सरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले छवटा खाडी मुलुक र मलेसियामा न्यून लागतमा कामदार पठाउने निर्णय कार्यान्वयन गर्न सम्बन्धित देशमा रहेका नेपाली नियोगलाई निर्देशन दिइसकेको उक्त मन्त्रालयका कायम मुकायम सचिव शङ्करदास बैरागीले बताए ।

वैदेशिक लगानी तथा पर्यटन प्रवर्द्धनका लागि विदेशस्थित सबै नेपाली नियोगलाई सक्रिय तुल्याइएको र लगानी सम्मेलन आयोजनाका निम्ति तिनलाई आवश्यक गृहकार्य गर्न अनुरोध गरिएको जानकारी पनि उनले दिए ।

भूकम्पपछिको पुनःनिर्माण तथा त्यस सम्बन्धमा सम्बन्धित मुलुकले नेपालका बारेमा सम्प्रेषण गरेका नकारात्मक यात्रासुझाव हटाउन लगाउने र ‘नेपाल सुरक्षित छ, ढुक्क भएर यात्रा र मनोरञ्जनसँगै नेपाललाई सहयोग गर्नुहोस्’ नाराका साथ विविध कार्यक्रम आयोजना भइरहेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: